काठमाडौं । चालु आर्थिक वर्षको १३ महिनामा करिब १३ खर्बको वस्तु आयात भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा कुल वस्तु आयात १२.५ प्रतिशतले वृद्धि भई रु.१२ खर्ब ८९ अर्ब २५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ११.२ प्रतिशतले वृद्धि भएको थियो ।
वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ५.१ प्रतिशत, २१.२ प्रतिशत र २६.० प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरण तथा पार्ट्सलगायतका वस्तुको आयात बढेको छ भने खाने तेल, हट रोल्ड शिट इन क्वाइल, लसुन, दाल, एम.एस.विलेटलगायतका वस्तुको आयात घटेको छ ।
यस्तै यो अवधिमा कुल वस्तु निर्यात २०.८ प्रतिशतले वृद्धि भई रु.१ खर्ब ९१ अर्ब ११ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५७.२ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः २५.३ प्रतिशत र ७.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ५३.७ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, अलैंची, पाम तेल, जुटका सामान, चाउचाउ लगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, हस्तकलाका सामानलगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा कुल वस्तु व्यापार घाटा ११.२ प्रतिशतले वृद्धि भई रु.१० खर्ब ९८ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ६.२ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा निर्यात– आयात अनुपात १४.८ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १३.८ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.१ खर्ब २० अर्ब ४१ करोड बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१ खर्ब १९ अर्ब ४९ करोड बराबरको भएको थियो ।






















