छेन्दु, चीन । चीनको छेन्दुमा ुफेवा डायलगु को दोस्रो संस्करण सम्पन्न भएको छ। उक्त सम्मेलनलाई चीन र दक्षिण एसियाबीच शैक्षिक आदानप्रदान तथा क्षेत्रीय सहयोगलाई प्रवर्द्धन गर्ने अर्को एक महत्वपूर्ण कोशेढुङ्गाका रूपमा सहभागीहरूले अर्थ्याएका छन्।
चीनको सिचुआन विश्वविद्यालयको चाइना सेन्टर फर साउथ एसिया स्टडीज (सीसीएसएएस) र नेपालको त्रिभुवन विश्वविद्यालयद्वारा संयुक्त रूपमा आयोजना गरिएको उक्त दुई दिने संवाद (मार्च २६–२७) ले चीन, दक्षिण एसिया र छिमेकी क्षेत्रका अग्रणी प्राज्ञ, थिंक ट्याङ्कका प्रतिनिधिहरू र नीति अभ्यासकर्ताहरूलाई एकठाउँमा जुटाएको थियो।
‘फेवा डायलग’ क्षेत्रीय विकाससँग सम्बन्धित प्रमुख रणनीतिक मुद्दाहरूमा गहन आदानप्रदानलाई प्रभावकारी बनाउन समर्पित एक प्रमुख प्राज्ञिक मञ्च भएको र यसको उद्देश्य पारस्परिक समझदारीलाई प्रवर्द्धन गर्नु, सहमति निर्माण गर्नु र सहभागी देश तथा संस्थाहरूबीच सहकार्यलाई बलियो बनाउनु रहेको बताइएको छ।
आफ्नो स्थापनाको मर्मलाई पछ्याउँदै छेन्दुमा सम्पन्न सम्मेलन ‘दक्षिण एसियामा जलवायु परिवर्तन, शासन र विकास’ विषयमा केन्द्रित रहेको आयोजकको भनाइ छ । विश्वव्यापीरूपमा बढ्दो जलवायु चुनौतीहरूको गम्भीर पृष्ठभूमिमा सहभागीहरू दक्षिण एसियाको दिगो विकासका लागि यी विषयको महत्त्वलाई स्वीकार गर्दै अनुकूलन र न्यूनीकरण दुवैका लागि शासन रणनीतिहरूमा मिश्रित विधा र क्षेत्रका जानाकारहरु छलफलमा संलग्न भएका थिए ।
उच्चस्तरीय सत्र, बहस र विशेषज्ञका मत आदानप्रदानका श्रृंखलामार्फत यस संवादले नयाँ विकास अवसरहरू खोतल्दै जलवायु सम्बन्धित जोखिमहरूलाई प्रभावकारी रूपमा सम्बोधन गर्न बलियो सहकार्य र थप नवीन दृष्टिकोणहरूको आवश्यकतालाई उजागर गरेको जनाइएको छ। ती छलफलहरूले दक्षिण एसियामा क्षेत्रीय आर्थिक सहकार्यलाई अगाडि बढाउन, स्वच्छ ऊर्जा र उदीयमान औद्योगिक शृङ्खलाहरूमार्फत हरित विकासलाई प्रवर्द्धन गर्न र थप दिगो जीवनशैलीतर्फको सङ्क्रमणलाई सघाउने तौरतरिकाहरूको खोजी गरेको दाबी गरिएको छ ।
नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङ भन्छन्, “जलवायु परिवर्तनका चुनौतीहरूविरुद्ध सामूहिक प्रतिक्रियाको आवश्यकता पर्छ। चीन र नेपालले जलवायु परिवर्तनलाई संयुक्त रूपमा सम्बोधन गर्न लामो बाटो तय गरेकामा मलाई खुसी लाग्छ। चीनको हरित संक्रमणले गति लिइरहँदा त्यसले नेपाल लगायत दक्षिण एसियाली देशहरूमा हरित विकासका अवसरहरू ल्याइरहेको छ।”
सिचुआन विश्वविद्यालयका उपकुलपति लिउ चाओ भन्छन्, “सिचुआन विश्वविद्यालयले नेपालको त्रिभुवन विश्वविद्यालयसँग दीर्घकालीन र स्थिर सहयोग स्थापित गरेको छ र बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गत ११ वटा छोटो अवधिका अन्तर्राष्ट्रिय विद्यार्थी आदानप्रदान कार्यक्रमहरू सञ्चालन गरेको छ। १०० भन्दा बढी नेपाली विद्यार्थीहरूसहित ४०० भन्दा बढी दक्षिण एसियाली विद्यार्थीहरूले सिचुआन विश्वविद्यालयमा अध्ययन गरेका छन्। सिचुआन विश्वविद्यालयले जलवायु परिवर्तन, विपद् व्यवस्थापन र पुनर्निर्माण, कार्बन तटस्थता र हरित ऊर्जाजस्ता क्षेत्रहरूमा विशिष्ट अनुशासनात्मक अवसर प्रदान गर्छ।”
त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसी भन्छन्, “यस सम्मेलनमा व्यक्त विचारहरूले अन्तर(क्षेत्रीय कनेक्टिभिटीलाई बढवा दिनेछ जसले हामी बीचको खाडललाई कम गर्न र चीनसँग दक्षिण एसियाली देशहरू बीच ट्र्याक टु स्तरको समझदारी बढाउन सक्छ।”
‘फेवा डायलग’को अघिल्लो संस्करण सन् २०२४ को डिसेम्बरमा नेपालको पोखरामा आयोजना भएको थियो थियो। आउँदा वर्षमा समेत यस सम्मेलनले संवाद, सहयोग र सहकार्यका लागि एक महत्त्वपूर्ण मञ्चको रूपमा काम गरिरहने र बलियो क्षेत्रीय साझेदारी र विश्वव्यापी चुनौतीहरूको नवीन समाधानमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।




















