skip this News Page Tips Ad Road Block

काठमाडौँमा हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गरिने, वडास्तरीय तालिम सञ्चालन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । हरेक वडामा २५ जना प्राथमिक उपचारकर्ता उत्पादन गर्ने लक्ष्यसहित आजदेखि काठमाडौँ महानगरपालिकाले तालिम सुरु गरेको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा वडा नं. १ नक्साल र वडा नं. १२ टेकुमा तालिम थालिएको हो । वडा नं. १२ का १० जना महिला र १५ जना पुरुष छन् भने वडा नं. १ मा ६ जना पुरुष बाँकी महिला प्रशिक्षार्थी छन् । यसप्रकारको तालिम सञ्चालन गर्न चैत ५ गते महानगरपालिकाले नेपाल रेडक्रस सोसाइटी काठमाडौँ शाखासँग सम्झौता गरेको थियो ।
‘प्राथमिक उपचार तालिममा दक्षता प्राप्त गर्नु जीवन बनाउने ठूलो योग्यता प्राप्त गर्नु हो । यसकारण तालिमका लागि चाहिने समय दिनुहोला ।’ तालिम प्रारम्भ अवसरमा वडा नं. १२ का अध्यक्ष एवं वातावरण समितिका संयोजक वालकृष्ण महर्जन र वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठले साझा धारणा राख्दै भने, ‘तपाईँहरुले सिकेको सिप आपतकाल व्यवस्थापन गर्न प्रयोगमा आउनेछ । अकालमा ज्यान जानबाट बचाउन काम लाग्नेछ ।’

यसरी लिएको तालिमबाट प्राप्त गरेको प्रमाण पत्रले नेपाल सहित १९२ देशमा मान्य हुनेछ । रेडक्रस सोसाइटी काठमाडौँका सभापति श्यामकाजी डोटेलले भने, ‘दुर्घटना, चोटपटक वा स्वास्थ्यजन्य आपतकालीन परिपस्थितिमा आफू नजिक रहेका साधन तथा वस्तुको उपयोग अवस्था विग्रिन नदिने, स्थिर बनाउने र सुधार गराउने तालिमको उद्देश्य हो ।’

दुर्घटना, चोटपटक, अचानक बिरामी पर्ने अवस्था जस्ता स्वास्थ्यजन्य आपतकालीन परिस्थितिमा विरामीलाई अस्पताल पुर्याउनु अघि अवस्था थप बिग्रिन नदिनु तालिम सञ्चालनको मुख्य उद्देश्य हो । स्वास्थ्य महाशाखा प्रमुख नःली बज्राचार्यले स्वीकृत मापदण्डअनुसारको तालिम सञ्चालन थालिएको बताए ।

सम्झौता बमोजिम हरेक वडामा २५ जनाको समूहलाई तालिम प्रदान गरिनेछ । तालिमको तयारीका लागि वडा कार्यालय र स्वास्थ्य प्रवर्धन केन्द्रसँग तयारी बैठक हुनेछ । हरेक वडाको तालिम सञ्चालन गर्न १ लाख ६३ हजार ८५० रुपैयाँ खर्च हुनेछ । सोसाइटीले आउँदो असार १० गतेभित्र सबै वडामा तालिम सम्पन्न गर्नेछ ।

तालिममा दुर्घटना स्थलमा आफ्नो र घाइतेको सुरक्षा, घाइतेको अवस्था प्रारम्भिक जाँच, मुटुको धड्कन वा श्वासप्रश्वास बन्द भएको व्यक्तिलाई छाती थिचेर र कृतिम श्वास दिएर पुनर्जीवित गराउने विधि (सीपीआर), रक्तश्राव नियन्त्रण गर्ने तरिका सिकाइन्छ । शरीरबाट रगत बग्दा, नाकबाट रगत बग्द नियन्त्रण गर्ने, हड्डी भाँचिएको वा मर्किएको थाहा पाउने, घाँटीमा केही अड्किएको निकाल्ने, आगो, तातो पानी वा कुनै रसायनले पोल्दा गर्नुपर्ने पहिलो रोकथाम र बचावट, सर्प, कुकर, विच्छीजस्ता विषालु जीव वा किराले टोकेपछि गरिने रोकथाम, बेहोस भएका व्यक्तिलाई थप समस्याबाट बचाउने उपाय, विषाक्तताबाट बचाउने सिप, पानीमा डुवेको, करेन्ट लागेको अवस्थाबाट बचाउने, घाइते वा विरामीलाई ओसार्ने विधिको सैद्धान्तिक तथा प्रयोगात्मक ज्ञान प्रदान गरिन्छ ।

Health Tips Ad Road Block