skip this News Page Tips Ad Road Block

प्रधानमन्त्री सुशीला कार्कीसँगको प्रश्नोत्तर !

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । विभिन्न मिडियाले प्रधानमन्त्री सुशीला कार्कीलाई प्रश्न गरेका छन्  । उनको जवाफ यस्तो छ ।

निकै असहज परिस्थितिमा प्रधानमन्त्रीको जिम्मेवारीमा आउनुभएको थियो। आज निर्वाचन गराउन सफल हुनुभयो। कस्तो लागेको छ?

प्राप्त जिम्मेवारी पूरा गर्न सकेकामा खुसी त लाग्ने नै भयो । म खुसी छु । हामीलाई प्राप्त जिम्मेवारी नै त्यही थियो । तर म एक्लैले यो सम्भव भएको होइन । सिंगो मन्त्रिपरिषद्को मेहनत लागेको छ । निर्वाचन आयोग, सुरक्षा निकाय, कर्मचारी, राजनीतिक दल, उम्मेदवार सबैको भूमिका छ । खास गरी हाम्रो आह्वान स्विकार गरेर निर्वाचनमा सहभागी हुनुहुने नेपाली जनताले नै यसलाई सफल बनाउनुभएको हो ।

निर्वाचन सम्पन्न गर्नुअघि मुख्य रुपमा केकस्ता चुनौतीको सामना गर्नुभयो?

चुनौती र बाधा अवरोधहरु धेरै थिए। मुख्य चुनौती सुरक्षाको थियो। एकीकृत निर्वाचन सुरक्षा योजना ल्याइयो। त्यो प्रभावकारी पनि भयो। सफलतासाथ शान्ति कायम गर्न सम्भव भयो। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र गृह प्रशासन सबैका बीचमा समन्वय पनि राम्रोसँग भयो। सबैले एउटै राष्ट्रिय भावनाका साथ काम गर्नुभयो। उहाँहरु सबै धन्यवादका पात्र हुनुहुन्छ। सहिद परिवार तथा घाइते योद्धाहरुको संयम र समझदारीलाई पनि यहाँनिर बिर्सन मिल्दैन। उहाँहरुप्रति उच्च सम्मान छ।

निर्वाचनलाई लिएर सुरुदेखि नै आशंकाहरु गरिएको थियो। निर्वाचन नै हुँदैन, यो सरकारले गर्न सक्दैन भनिएको थियो। कसरी सम्भव तुल्याउनुभयो?

तपाईँहरुलाई थाहै छ, कस्तो असहज र अनिश्चयपूर्ण अवस्थामा हामीले जिम्मेवारी सम्हालेका थियौँ? तर हामीलाई आत्मविश्वास थियो काम गर्न सक्छौँ भन्ने । लगनशीलता भएमा कुनै कुरामा लागिपरे सम्भव हुने रहेछ । चुनौती भए पनि हामी आफ्नो जिम्मेवारीअनुकूलको काम गर्दै गयौँ । हामीमाथि विभिन्न प्रकारले आक्रमण नभएको होइन । बाधा अवरोध नआएको होइन । तर हामी त्यसबाट विचलित भएनौँ। निस्वार्स्थ र निष्ठा राखेर काम गरे फत्ते हुन्छ भन्ने विश्वास थियो । जति अवरोध भए पनि बाटो हामीले छाडेनौँ ।

चुनौतीहरु धेरै सामना गर्नुपर्‍यो । हामीलाई दलहरुले नै अयोग्य भनेकै हुन् । जेनजीका केही व्यक्तिले पनि औँला उठाएकै हुन् । तर हामीले मुलुकमा शान्ति कायम गर्ने उद्देश्यमा लाग्यौँ ।

रक्तपात नहोस्, कुनै अप्रिय घटना नहोस्, शान्त र अनुशासित रुपमा निर्वाचन होस् भन्ने लागेको थियो। सभ्य हिसाबमा होस् भन्ने थियो। चुनावमा हिंसा हुनुहुँदैन भन्ने पहिलो दिनबाटै भनेको हो । हाम्रो प्रयास नै त्यसैमा रह्यो।

कसले के भन्छ भनेर हामीले त्यस्ता कुरा सुन्दै सुनेनौँ। हामीले काम मात्र सोच्यौँ। हामीले हाम्रा लागि गरेका पनि होइनौँ। मुलुक र जनताका लागि गरेका हौँ। सिंगो मुलुकको साथ पनि पाइयो।

निर्वाचन गराउने सन्दर्भमा अझै केही राम्रो गर्न सकेको भए हुन्थ्यो भन्ने लागेको छ ?

विदेशमा भएका र अन्तरजिल्ला मतदान गर्न पाएको भए हुन्थ्यो भन्ने लागेको छ। खर्चमा मामीले मितव्ययिता अपनायौँ। अझै कम गर्न सकिन्थ्यो । तर भदौ २३ र २४ को घटनाका कारण धेरै साधन नयाँ किन्नुपर्‍यो। तैपनि यो निर्वाचन निकै नै सभ्य अनि अनुशासित रुपमा सम्पन्न भएको छ ।

आगामी जनप्रतिनिधि र सरकारलाई के भन्न चाहनुहुन्छ ?

मुलुकका समस्याप्रति सबै जानकार छन्। सबैले समस्या देखेका छन् तर तिनको समाधानमा इमानदार प्रयास आवश्यक छ। जेनजीले उठाएका मागहरु छन्। तिनको सम्बोधन गर्नुपर्छ। जस्तो कि देशमा सुशासन होस्, स्वदेशमै बस्न पाइयोस्। यहीँ काम पाइयोस्। भ्रष्टाचार, विभेद र पक्षपात नहोस्। विदेशमा लास बनेर फर्किनुपर्ने अवस्थाको अन्त्य होस्। देशभित्रै गुणस्तरीय शिक्षा पढ्न पाऊन् युवाले। संविधानसम्मत मौलिक हकको अक्षरशः पालना होस्। हामीले के गर्न खोजेका थियौँ, के सम्भव भयो, के अधुरो रह्यो र के काम के कारणले सम्भव हुन सकेन भन्ने विषयमा श्वेतपत्र नै छाडेर जान्छौँ। ताकि आगामी सरकारलाई मार्गदर्शन होस्।

गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन के हुन्छ अब?

आयोगले प्रतिवेदन बुझाउनासाथ कार्यान्वयनमा जान्छ। मैले भन्दै आएकी छु, मुलुकमा कुनै पनि प्रकारको दण्डहीनताले ठाउँ पाउनुहुँदैन। त्यसैले अहिलेको आयोगको मात्र होइन, अरु पनि त्यस्ता प्रतिवेदन छन् भने ती हेर्छौँ र सार्वजनिक गरिदिन्छौँ। ताकि जनताले थाहा पाऊन्।

Health Tips Ad Road Block