काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९ औं वार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रम गरी सम्पन्न गरेको छ । काठमाडौंस्थित होटल ह्यात सेन्ट्रिकमा आयोजित कार्यक्रममा कम्पनीकी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पुर्याउन मुख्य भूमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित वर्गहरु, शुभेच्छुक, सरोकारवालाहरु तथा सबैप्रति हार्दिक आभार व्यक्त गरिन् । उनले सेवाग्राहीहरुलाई उच्चस्तरीय तथा सर्वसुलभ सेवा प्रदान गरी कम्पनीको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप कर्मचारीहरुलाई प्रविधिमा थप दक्ष बनाउनेतर्फ कम्पनीले विशेष ध्यान दिँदै आएको र यसै सन्दर्भमा कम्पनीका सम्पूर्ण प्रशासनिक कर्मचारीहरुलाई आर्टिफिसियल इण्टिलिजेन्ससम्बन्धी विस्तृत तालिम प्रदान गरिएको बताइन् । साथै उनले यस प्रकारका तालिमलाई निरन्तरता दिईने पनि बताइन् ।
कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता, बीमित, लगायत सरोकारवाला सबैको प्रत्यक्ष अप्रत्यक्ष साथ र सद्भावले गर्दा कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र भविष्यमा पनि यस प्रकारको साथ सद्भाव प्राप्त रहने विश्वास व्यक्त गरे । साथै उनले नियामक निकाय लगायत अन्य सम्बन्धित संस्थाहरुबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गरे । सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगृह तारकेश्वरलाई शैक्षिक सामाग्री वितरणसहित त्यहाँ रहेका बालबालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको छ । सोही अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयहरुले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थाहरुमा यस प्रकारका कार्यक्रमहरु आयोजना गरिएको बताए ।
उनले कर्मचारीहरुलाई आन्तरिक क्रियाकलापमा सहभागी गराई शारिरीक तथा मानिसिक रुपमा सबल र सक्षम बनाउने उदेश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिलाको क्रिकेट, फुटसल, टेवुल टेनिस र बुद्धिचालजस्ता विभिन्न प्रकारका खेल प्रतियोगिताहरु आयोजना गरिएको बताए ।
मनोरञ्जानात्मक प्रस्तुतीसहित सम्पन्न वार्षिकोत्सव समापन कार्यक्रममा अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले विविध खेलकुदमा विजेता कर्मचारीहरुलाई पदक तथा प्रमाण पत्र र रक्तदान गर्ने कर्मचारीहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै नृत्य प्रदर्शन गर्ने कर्मचारीहरुलाई मायाको चिनो प्रदान गरिन् ।






















