काठमाडौं । निर्वाचन आयोगले बैंक खाता खोल्ने कामका ढिलाई नगर्न प्रतिनिधि सभाका उम्मेदवारलाई ताकेता गरेको छ । आयोगले निर्वाचनको प्रचारप्रसारसम्बन्धी सबै खर्च सोही खाताबाट हुनुपर्ने भएकाले बाँकी रहेका उम्मेदवारहरुलाई तत्काल खाता खोल्न सचेत गराएको हो ।
सार्वजनिक बिदाका कारण पनि खाता खोल्ने काममा उम्मेदवारहरुलाई असहज हुनसक्ने देखिएको र अब यसलाई ढिलो नगर्न पनि सचेत गराइएको आयोगले पत्रकार सम्मेलनमार्फत स्पष्ट पारेको छ । उम्मेदवारहरुलाई खाता खोल्ने काममा बैंकहरुलाई सहजीकरण गर्न पनि आयोगले भनिसकेको जनाएको छ ।
आयोगले अहिले घोषणा पत्र र निर्वाचन बैंक खातालाई अलि बढी फोकस गरेको र प्रभावकारीरुपमा कार्यान्वयन गर्नुपर्छ भनेर दललाई निर्देशनात्मक आदेश जारी गरेको जनाएको छ । आइतबार, सोमबारसम्ममा धेरैजसो उम्मेदवारहरुले खाता खोलिसक्ने आयोगको अपेक्षा छ ।
निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहितामा निर्वाचनमा हुने खर्च पारदर्शी बनाउनका लागि उम्मेदवारहरुले बैंक खाता खोली सोही खाताबाट खर्च गर्नुपर्ने व्यवस्था गरेको छ ।






















