Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निर्वाचनको वातावरण धमिल्याउन खोज्नेहरुको पहिचान गरी सुरक्षामा पूर्ण ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

सम्भावित झडपप्रति चनाखो बन्नुस्

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । प्रधानमन्त्री सुशिला कार्कीले निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूको पहिचान गरी निर्वाचन केन्द्रित सुरक्षामा पूर्ण ध्यान दिन सम्बन्धीत निकायलाई निर्देशन दिएकी छन् । प्रधानमन्त्री कार्कीले गण्डकी प्रदेशपछि लुम्बिनी प्रदेशको भ्रमण गरी चुनावी तयारी र समग्र वस्तुस्थितिबारे जानकारी लिँदै यस्तो निर्देशन दिएकी हुन् । प्रधानमन्त्री कार्कीले रुपन्देहीको बुटवलमा लुम्बिनी प्रदेश तथा त्यसअन्तर्गतका विभिन्न जिल्लाका अधिकारीहरूसँग विस्तृत छलफल गरेकी थिइन् ।

कार्यक्रममा लुम्बिनी प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्री, नेपाली सेनाको मध्यपश्चिम पृतनाका पृतनापति हिम्मतबहादुर विष्ट, लुम्बिनी प्रदेश प्रहरी प्रमुख भुपेन्द्र खत्री, रुपन्देही, कपिलवस्तु, नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) र पाल्पाका प्रमुख जिल्ला अधिकारी एवं अन्य सुरक्षा अधिकारीहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख सचिव काप्री र पृतनापति विष्टले प्रदेशभित्र रहेका २६ वटै निर्वाचन क्षेत्रको अवस्था, चुनावको तयारी र सुरक्षाको योजनाका विषयमा प्रस्तुतीकरण दिएका थिए । अन्य सहभागीहरुले पनि आ–आफ्नो क्षेत्रको विवरण प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री कार्कीले छोटो अवधिमा निकै मिहिनेत गरेर निर्वाचनको वातावरण बनाएको र मिहिन कुराहरुलाई पनि ध्यानमा राखी सुरक्षाको योजनासमेत तयार गरेकोमा सन्तोष व्यक्त गर्दै सम्बद्ध अधिकारीहरुलाई धन्यवाद दिइन् ।

छलफलका क्रममा प्रधानमन्त्री कार्कीले आसन्न प्रतिनिधि सभा निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी प्रभावकारी सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएकी हुन् । उनले निर्वाचनको वातावरण धमिल्याउन खोज्ने तत्वहरूको पहिचान गरी निर्वाचन केन्द्रित सुरक्षामा पूर्ण ध्यान दिन भनिन् । प्रधानमन्त्री कार्कीले जनतामा जान नसक्ने केही व्यक्ति र समूहले आफ्नो अस्तित्व देखाउन पनि निर्वाचन बहिष्कारको हल्ला फैलाउने गरेको उल्लेख गर्दै यस्ता गतिविधिमाथि कडा निगरानी राख्न निर्देशन दिएकी छन् ।

आफ्नो उपस्थिति देखाउन जनजीवनलाई आतंकित पार्ने र रकम असुली (एक्सटर्सन) गर्ने प्रवृत्ति पनि पाइएको र त्यसलाई समयमै निरुत्साहित गर्नुपर्ने उनको भनाइ थियो। उनले भनिन्, ‘बहिष्कार पनि अहिले सजिलो व्यवसायजस्तो भएको छ। जनतामा जानुपरेन। मत माग्नुपरेन। पार्टीको संगठन बनाउनुपरेन। दुईचार जना मिलेर बहिष्कार भन्दियो। जनतालाई आतंकित बनायो। चन्दाका नाममा एक्सटर्सन गर्‍यो। यस्तो प्रवृत्ति छ। यसलाई समयमै निरुत्साहित गर्नुपर्छ। राजनीति गर्ने हो भने त जनतामा मत माग्न जानुपर्‍यो नि।’

उनले अगाडि थपिन्, ‘अहिले सबै सम्हालिएर संयमित भएर देशलाई निकास दिने गरी निर्वाचन सफल बनाउन लाग्नुपर्ने समय हो। यो देश हाम्रो हो। हामीले नै बनाउनुपर्छ। यही देशमा बाँच्नुपर्छ। त्यसैले जस्तासुकै चुनौती आए पनि हामीले सामना गरेर नै अघि बढ्नुपर्छ। देशको माया हुनेहरु सबैले शान्ति सुव्यवस्था कायम गर्न सहयोग गर्नुपर्छ। निर्वाचन सफल बनाउँदै देशलाई निकास दिन लाग्नुपर्छ।’

निर्वाचन आफैंमा जित–हारको प्रतिस्पर्धा भएकाले सम्भावित झडपप्रति पनि चनाखो हुनुपर्ने उनले बताइन् ।

प्रधानमन्त्री कार्की नेतृत्वको टोलीले गौतम बुद्धको जन्मस्थल लुम्बिनीको दर्शनसमेत गरेको छ ।

टोलीमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावल र प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठ पनि सहभागी थिए ।

प्रधानमन्त्री कार्कीले शुक्रबार मुस्ताङका हिमाली बस्तीको हवाई निरीक्षण गरी मुख्तिनाथ र जोमसोममा अन्तर्क्रिया गरेकी थिइन् । मुस्ताङबाट उनी पोखरा पुगेर गण्डकी प्रदेशस्तरीय छलफल गरेकी थिइन् ।

यसअघि उनले कोसी प्रदेशका सोलुखुम्बु, भोजपुर, ताप्लेजुङ र सुनसरीमा भ्रमण गरी निर्वाचन तयारीको निरीक्षण गरेकी थिइन् ।

Health Tips Ad Road Block