Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

निजी क्षेत्रसँग केपी ओलीले भने-‘भूमि बैंक’ अवधारणाबाट उत्पादन वृद्धि गर्ने लक्ष्य छ’

Citizenlife ad 2082 falgun to baishak 2083

झापा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले ‘भूमि बैंक’ अवधारणाबाट उत्पादन वृद्धि गर्ने लक्ष्य रहेको बताएका छन् । शनिबार दमकमा आयोजित निजी क्षेत्रसँगको संवाद कार्यक्रममा उनले कृषिमा ६० प्रतिशतभन्दा बढी जनसंख्या आश्रित हुनु मानव स्रोतको उचित प्रयोग नभएको उल्लेख गर्दै कृषिलाई आधुनिकीकरण, सुपर जोन र ब्लक खेतीमार्फत अघि बढाउनुपर्ने बताए ।

यस्तै उनले देशमा केही पनि नभएको भन्ने भाष्य गलत भएको बताए । उनले देशमा विकास र सुधार हुँदै गएको तर अझै धेरै काम गर्न बाँकी रहेको स्पष्ट पारे ।

ओलीले भने, ‘देशमा केही भएको छैन भन्ने होइन, भएको छ। तर अझै हुन बाँकी छ, त्यो गर्दै जानुपर्छ। शिक्षा, स्वास्थ्य, खानेपानी र सडक पूर्वाधारमा सुधार आएको छ।’

यस्तै उनले आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा सडक, विद्युत, शिक्षा र स्वास्थ्य क्षेत्रमा उल्लेख्य काम भएको पनि बताए । ओलीले विगतमा बिजुली नभएको ठाउँमा अहिले सबै ठाउँमा विद्युत पुगेको उल्लेख गरे । उनले भने, ‘पहिले पेट्रोम्याक्स बालेर सभा गरेका थियौँ, आज विद्युत नपुगेको कुनै कुनो छैन।’

अध्यक्ष ओलीले विकासका लागि पैसा मात्र होइन, स्पष्ट दृष्टिकोण आवश्यक पर्ने बताए । चीन र स्क्यान्डिनेभियन देशहरूको उदाहरण दिँदै उनले विकास भिजन र आइडियाबाट हुने धारणा राखे । सोहीक्रममा उनले सरकारी जागिरको सीमित अवसर भएकाले युवालाई उद्यमशीलतामा लाग्न आग्रह पनि गरे । ओलीले सरकारले सहुलियत ऋण, लगानी वातावरण र निजी क्षेत्रसँग सहकार्य बढाइरहेको बताए ।

यस्तै उनले रेमिट्यान्समा निर्भर अर्थतन्त्र जोखिमपूर्ण हुने भन्दै ओलीले उत्पादन, उद्योग, विज्ञान–प्रविधि र नवप्रवर्तनमा आधारित अर्थतन्त्र निर्माण गर्नुपर्ने बताए ।

दैलेखको ग्यास खानी र नवलपरासीको धौवादी फलाम खानी सञ्चालनले आर्थिक समृद्धि ल्याउने उनको दाबी छ। नेपालको चिसो भूभाग सूचना प्रविधि र एआईका लागि उपयुक्त भएको उल्लेख गर्दै ओलीले ग्रीन हाइड्रोजन जस्ता नयाँ ऊर्जा प्रविधिमा नेपालले अवसर लिनुपर्ने धारणा राखे ।

साथै शिक्षा, स्वास्थ्य, गाँस, बास र कपास आधारभूत मौलिक हक भए पनि नागरिक आफैँ पनि कर्मशील हुनुपर्ने ओलीको भनाइ छ। ओलीले भने, ‘सबै काम भइसक्यो म भन्दिनँ, तर केही पनि भएको छैन भन्नु गलत हो।’

Health Tips Ad Road Block