काठमाडौं । आईसीसी टी–२० विश्वकपमा अन्तिम खेलमा नेपाली क्रिकेटले सुखद परिणाम निकाल्दै घर फर्किने अवस्थामा पुगेको छ । मंगलबार अबेर सम्पन्न अन्तिम खेलमा नेपालले स्कटल्यान्डलाई ७ विकेटले पराजित गरेर जितको खाता खोलेको हो । स्कटल्यान्डले दिएको १७१ रनको लक्ष्य पछ्याएको नेपालले १९.२ ओभरमा ३ विकेट गुमाउँदै १७१ रन बनाएको थियो । नेपालले १२ वर्षपछि विश्वकपमा पहिलो जित निकालेको हो । यसअघि नेपालले सन् २०१४ को विश्वकपमा अन्तिमपटक अफगानिस्तानलाई ९ रनले पराजित गरेको थियो ।
नेपालको जितमा दीपेन्द्रसिंह ऐरीले विस्फोटक अर्धशतक प्रहार गर्दै २३ बलमा अविजित ५० रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गर्दै टोलीलाई सहज जित दिलाएका थिए । अन्तिमसम्म उनका साथमा रहेका गुल्सन झा १७ बलमा २४ रन बनाउँदै अविजित रहे । ओपनर कुशल भुर्तेलले ३५ बलमा १ चौका र ४ छक्कासहित ४३ रन बनाउँदै राम्रो सुरुआत दिलाएका थिए । विकेटकिपर आसिफ शेखले २७ बलमा ३३ रन जोडे भने कप्तान रोहित पौडेल १४ बलमा १६ रन बनाएर आउट भए । नेपालले ९.१ ओभरमा ७४ रनमा पहिलो विकेट गुमाएको थियो । त्यसपछि ११.५ ओभरमा ८७ रन हुँदा दोस्रो तथा १३.२ ओभरमा ९८ रन हुँदा तेस्रो विकेट गुमाएको थियो । अन्तिममा दीपेन्द्र र गुल्सनले अविजित साझेदारी गर्दै टोलीलाई जित दिलाए ।
स्कटल्यान्डका माइकल लिस्कले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए पनि त्यो पर्याप्त हुन सकेन । स्कटल्यान्डका अन्य बलरहरू प्रभावकारीरुपमा जम्न सकेनन् ।
आकर्षका बलिङ गरेका नेपालका लागि सोमपाल कामीले ४ ओभरमा २५ रन खर्चेर सर्वाधिक ३ विकेट लिए । नन्दन यादवले २ तथा कप्तान रोहित पौडेल र कुशल भुर्तेलले १–१ विकेट लिएका थिए ।
यस पटक सुपर एट पुग्ने लक्ष्य राखेको नेपालले इंग्ल्यान्ड, इटली र वेस्ट इन्डिजसँगको खेल गुमाएपछि समूह चरणबाटै बाहिरिसकेको थियो ।





















