काठमाडौं । सर्वसाधारणका लागि रिज लाइन इनर्जी लिमिटेडले माघ २८ गतेदेखि निष्काशन गरेको करोडौंको आईपीओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेर बाँडफाँट गरेपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ११ लाख ८० हजार २६० कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
कम्पनीले जारी पूँजी १ अर्ब १८ करोड ५० लाख रुपैयाँको २२ प्रतिशत अर्थात २६ करोड ७ लाख रुपैयाँ बराबरको २६ लाख ७ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमा ११ लाख ८५ हजार कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि र १ लाख ४२ हजार २०० कित्ता साधारण शेयर विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेर बाँडफाँट गरिसकेको छ ।
त्यसपछि दोस्रो चरणमा कम्पनीले २८ हजार ४४० कित्ता शेयर कर्मचारीहरुका लागि र ७१ हजार १०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ११ करोड ८० लाख २६ हजार रुपैयाँबराबरको आईपीओ सर्वसाधारणका लागि निष्काशन गरेको हो । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत यस आईपीओमा आवेदन दिन सक्नेछन् ।






















