Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

‘शहरका सडक, गल्ली, चोक, घरका ढोका कतै पनि फोहाेरका पोका थुप्रिएको अवस्थामा हुन हुँदैन’

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । शहरी सरसफाइ र स्वच्छता कायम गराउने दायित्वमा गल्ती गर्ने छुट कसैलाई पनि नभएको बताउँदै काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरका सडक, सडक किनारा, ढल प्रणाली, पार्क, गल्ली, चोक र मानिसका घरका ढोका कतै पनि फोहरका पोका थुप्रिएको अवस्थामा हुनु नहुने बताएकी छन् । काठमाडौँ महानगरपालिकाभित्रको फोहर संकलन, वर्गीकरण र ढुवानी गर्ने निजी क्षेत्रका प्रतिनिधिहरुसँग शहरी सरसफाइको अभ्यास, यसको दिगोपनाका लागि गर्नुपर्ने नीतिगत र व्यावहारिक सुधारका पक्षमा छलफल गर्दै उनले भनिन्, ‘तोकिएको समय र विधिबाट फोहर संकलन हुनुपर्छ । सडक बढार्नुपर्छ । सहरी सरसफाइमा फोहर उत्पादकदेखि व्यवस्थापकसम्म सबैको जिम्मेवारी छ । सबैले आफ्ना आफ्ना जिम्मेवारीलाई इमान्दार भएर पूरा गर्नुपर्छ । आफू जिम्मेवार नबन्ने, अरुलाई दोष देखाउने प्रवृत्तिलाई निरुत्साहित गर्दै जानुपर्छ ।’

‘समस्या आएपछि यो के भएको भनेर हतार हतार छलफलमा जुट्ने परम्परा अन्त्य गरौँ । सम्भावित समस्याको समाधानका लागि पहिले नै काम गरौँ ।’ उनले भनिन्, ‘नागरिकसँग जोडिएका विषय हाम्रा प्राथमिकतामा छन् । शहरी सरसफाइ पहिलो प्राथमिकतामा छ । यसको प्रभावकारिताका लागि हामी सदैव खुला छौँ । सहभागिता र उत्तरदायित्वबाट यसलाई दिगो बनाउनुपर्छ ।’

छलफलमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले, फोहर संकलन कार्य र ट्राफिक व्यवस्थापन लगायत नागरिक तथा सरोकारवाला निकायबाट आएका गुनासा तथा सुझावलाई तत्काल सम्बोधन गर्दै जानुपर्ने बताए ।

त्यसक्रममा निजी क्षेत्रको प्रतिनिधित्व गर्दै ध्रुवप्रसाद आचार्य र मीत्र घिमिरेले महानगरपालिका नेतृत्वप्रति आशावादी रहेको बताउँदै महानगरपालिकाका निर्देशनहरुको पूर्ण कार्यान्वयनमा प्रतिवद्ध रहेको बताए ।

शहरी सरसफाइका विषय समय समयमा उठ्ने प्रश्नहरुमा निजी क्षेत्रको दायित्वका विषय उठेको सवालमा उनीहरुले भने, ‘हामी बिहान ५ बजे सडकमा निस्कन्छौँ । सार्वजनिक सडक बढार्दै काम थाल्छौँ । यससँगै संकलन प्रारम्भ हुन्छ । फोहर संकलन गर्ने समय धेरैलाई थाहा छ । थाहा भए पनि अटेरी गर्ने बानी हुन्छ । बाहिरबाट आउने कतिपय व्यक्तिहरु भने नजानेर पनि फोहर बोकेर बाहिर आउनुहुन्छ । यदि घरधनी जिम्मेवार हुने हो भने यी सबै समस्याको समाधान हुन्छ ।’

छलफलमा फोहरलाई स्रोतमा वर्गीकरण गर्ने, संकलन गर्ने समय र विधि निश्चित गर्ने, फोहर संकलन गर्न जानु पूर्व सूचना दिने जस्ता विधिलाई अभ्यास गर्ने, फोहर संकलन गर्ने सवारी साधनमा क्षमताभन्दा धेरै फोहर नराख्ने, सवारी साधनमा बसेर वर्गीकरण नगर्ने, संकलित फोहरलाई छोपेर मात्र ढुवानी गर्ने, यसरी ढुवानी गर्ने सवारी साधनबाट लिचेड नचुहिने सुनिश्चित गर्ने जस्ता विषयमा कुराकानी भएको थियो । भेटघाटका क्रममा वातावरण व्यवस्थापन विभागका प्रमुख सरिता राईसहित अधिकारीहरु सहभागी थिए ।

काठमाडौँ महानगरपालिकाले घरेलु फोहरसँगै उत्पादन हुने सुक्खा फोहर बिक्री गर्न ७ क्षेत्रमा विभाजन गरेर आय ठेक्का लगाएको छ । रिफ्युज, रिड्युस, रियुज, रिपेयर र रिसाइकल फोहरको दिगो व्यवस्थापनका विधिलाई प्रवर्धन गरिरहेको छ ।

Health Tips Ad Road Block