skip this News Page Tips Ad Road Block

‘निजी क्षेत्रः प्रश्न, पहिचान र प्रतिबद्धता’ : नियोजितरूपमा तोडफोड र आगजनीको शिकार किन ?

Citizenlife ad 2082 falgun to baishak 2083

विराटनगर । निजी क्षेत्रले भोग्दै आएको पीडालाई गम्भीरतापूर्वक आत्मासमीक्षा गरी साझा भविष्यप्रति दृढ प्रतिबद्धता जनाउने उद्देश्यसहित उद्योग संगठन मोरङ र राष्ट्रिय व्यवसायिक पहलको आयोजना तथा नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशको समन्वयमा “निजी क्षेत्रः प्रश्न, पहिचान र प्रतिबद्धता” विषयक वृहत अन्तरक्रिया सम्पन्न भएको छ । कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले हरेक आन्दोलनमा निजी क्षेत्रका उद्योग, व्यापारिक केन्द्र, पसल, गोदाम र घरहरू नियोजितरूपमा तोडफोड र आगजनीको शिकार बन्ने गरेकाले उद्योगीहरू आफ्नै देशमा लगानी गर्न डराउनुपर्ने अवस्थामा पुगेको बताए । उनले सामाजिक सञ्जाल मार्फत निजी क्षेत्रविरुद्ध फैलाइने मिथ्या, भ्रामक र उत्तेजक सूचनाले “लगानी गर्नु पाप हो कि”, “नाफा कमाउनु अपराध हो कि” भन्ने भाष्य निर्माण हुँदै गएको धारणा व्यक्त गर्दै यस्तो सोच समाजमा गहिरिँदै गए नेपालमै रोजगारी सिर्जना गर्ने, युवालाई विदेश पलायन हुनबाट रोक्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने नीजि क्षेत्रको सपना कसरी साकार हुन्छ ? भनि प्रश्न गरे ।

अध्यक्ष राठीले निजी क्षेत्रले दीगो, स्थिर र पूर्वानुमान गर्न सकिने नीतिको अपेक्षा गरेतापनि मुलुकमा सरकार परिवर्तनसँगै नीति परिवर्तन हुने प्रवृत्ति, अनियमितता, सुशासनको अभाव, ढिलासुस्ती र भ्रष्टाचार जस्ता समस्याले निजी क्षेत्रलाई बारम्बार अवरोध पारिरहेको बताए । उनले उद्योग÷व्यवसाय सञ्चालन गर्दा आइपर्ने यस्ता बाधा अड्चन फुकाउन निजी क्षेत्रले बाध्यतावस राजनीतिक शक्ति केन्द्रहरूको सामिप्य खोज्नुपर्ने अवस्था सिर्जना भएको स्पष्ट पार्दै यस्तो अवस्था आउनु न त निजी क्षेत्रका लागि स्वस्थ हो, न त लोकतान्त्रिक राज्य व्यवस्थाका लागि नै उचित भएको धारणा राखे ।

राष्ट्रिय व्यवसायिक पहलका अध्यक्ष कुशकुमार जोशीले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको नीजि क्षेत्र आजका दिनमा गहिरो पीडा, त्रास र अनिश्चितताको भूमरीमा फसेको उल्लेख गरे । उनले राज्यको कानुन र नीतिको पालना गरी कर तिरेर आर्थिक विकासमा योगदान दिँदा पनि समाजको दृष्टिकोण यस क्षेत्रप्रति अझै सकारात्मक बन्न नसकेको उल्लेख गर्दै निजी क्षेत्रविरुद्ध फैलिँदै गएको नकारात्मक भाष्यले उद्योग/व्यवसायमैत्री वातावरण दिनप्रतिदिन कमजोर बनाउँदै लगेको धारणा व्यक्त गरे । उनले उद्योगी/व्यवसायीको मनोबल र आत्मविश्वास खस्किँदै गएको र नयाँ लगानी गर्ने वातावरण धुमिल बन्दै गएकाले यस्तो अवस्थामा निजी क्षेत्रको वास्तविक चुनौतीहरूलाई तथ्य र तर्कका आधारमा राष्ट्रिय तहमा स्पष्ट र बुलन्दरूपमा प्रस्तुत गर्नु सबैको दायित्व भएको औंल्याए ।

राष्ट्रिय व्यावसायिक पहलका केन्द्रीय संयोजक किशोर प्रधानले उद्योग र व्यापार कुनै वर्ग, व्यक्ति वा समूहको नभई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड भएको बताए । लाखौं नेपालीलाई रोजगारी दिने, राज्यलाई कर र राजश्वमार्फत आर्थिक सशक्तता प्रदान गर्ने, पूँजी निर्माण र लगानीमार्फत विकासको ढोका खोल्ने क्षेत्र यही भएकाले यस क्षेत्रको अमूल्य योगदानलाई सबैले अन्तर आत्माबाट समीक्षा गर्नुपर्ने धारणा व्यक्त गरे । उनले नीजि क्षेत्रलाई केवल नाफामुखी र शक्तिकेन्द्रसँग नजिकको समूहका रूपमा चित्रित गर्ने प्रवृत्तिले समाज र निजी क्षेत्रबीचको विश्वास गहिरिँदै गएको भन्दै आपसी विश्वास बढाउन, नीजि क्षेत्रप्रतिको भ्रम चिर्न र यथार्थ उजागर गर्न यस प्रकारको कार्यक्रम ७ प्रदेशमा आयोजना गर्ने उल्लेख गरे ।

प्यानल छलफलमा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले निजी क्षेत्र अत्यन्त मेहनती, परिश्रमी तथा जोखिम लिन सक्ने क्षेत्र भएको उल्लेख गर्दै यस क्षेत्रको पछिल्लो समय गिरेको मनोबल उकास्न सरकारसहित सबै सरोकारवालाको साझा जिम्मेवारी रहेको र निजी क्षेत्रले राज्यको आर्थिक नीतिमा स्थिरता खोज्नु अत्यावश्यक रहेको स्पष्ट पारे ।

इन्सेकका पूर्व अध्यक्ष सुवोधराज प्याकुरेलले निजी क्षेत्रलाई जति थिचोमिचो गरे पनि हुन्छ भन्ने मनोवृत्ति विकास हुदै गएकोप्रति चिन्ता व्यक्त गर्दै निजी क्षेत्र कमजोर नभई सशक्त, सक्षम र सबल भएको सन्देश प्रवाह गर्न आवश्यक रहेको औंल्याए । उनले कर्मचारीतन्त्रले निजी क्षेत्रलाई त्रस्त बनाइरहेको उल्लेख गर्दै राज्यले कर्मचारीतन्त्रलाई बलियो बनाउने नाममा निजी क्षेत्रलाई कमजोर बनाउने नीति त्याग्नुपर्ने धारणा राखे ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष भवानी राणाले हरेक कालखण्डमा राज्यप्रति निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै यस क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिइन् । यस्ता संवादका माध्यमबाट समाजका विभिन्न क्षेत्रका प्रतिनिधित्व गर्ने व्यक्तित्वहरूलाई एउटै मञ्चमा ल्याई सत्य उजागर गर्ने र गलत धारणाहरूलाई चिर्दै आपसी विश्वास पुनःस्थापित गर्नुपर्ने उनको भनाइ थियो ।

उद्योग संगठन मोरङका निवर्तमान अध्यक्ष राकेश सुरानाले राज्यमा विद्यमान कानुनहरू सहज र निष्पक्ष रूपमा कार्यान्वयन हुने, राज्य सञ्चालन व्यक्ति वा दलबाटनभई पद्धति र विधिमा आधारित हुने अवस्था सिर्जना भए निजी क्षेत्रले कुनै दल वा राजनीतिक शक्तिको छायाँ खोज्न नपर्ने बताए । उनले अबका दिनमा राजनीतिक दलहरूले निजी क्षेत्रलाई निष्पक्ष, सुरक्षित र भरोसायोग्य वातावरण प्रदान गर्न प्रतिबद्धता जनाउन अत्यावश्यक रहेको औंल्याए ।

मिडिया एलायन्स नेपालका अध्यक्ष भाष्करराज राजकर्णिकारले निजी क्षेत्र कमजोर हुँदा रोजगारी, समाज र राष्ट्र नै कमजोर हुने भन्दै निजी क्षेत्रको आत्मविश्वास पुनःस्थापना गर्न राज्यका हरेक निकायले आ–आफनो तर्फबाट जिम्मेवारीपूर्वक योगदान पुर्याउनुपर्ने विचार व्यक्त गरे ।

युवा उद्यमी तथा एनिटाइम वारका प्रबन्ध निर्देशक सिद्धि अधिकारीले अब बन्ने सरकारले दीर्घकालीन औद्योगिक नीति निर्माण गरी विद्यमान कानुनहरूको सहज, पारदर्शी र प्रभावकारी कार्यान्वयन हुने वातावरण तयार पारे मात्र देशमा लगानीमैत्री वातावरण सिर्जना हुने धारणा राखिन् । उनले यसबाट निजी क्षेत्रलाई आत्मविश्वासका साथ लगानी गर्न प्रेरित गर्ने र त्यसैका माध्यमबाट रोजगारी सिर्जना, उत्पादन वृद्धि तथा समग्र आर्थिक समृद्धिको बाटो खुल्ने बताइन् ।

कार्यक्रममा कोशी प्रदेशका जिल्ला/नगर उद्योग वाणिज्य संघका अध्यक्षहरु, अर्थविद्धहरु, नागरिक समाजका प्रतिनिधिहरु, युवा तथा महिला उद्यमीहरु, उद्योगी/व्यवसायीहरु, प्रदेशस्तरीय संघ/संस्थाका अध्यक्षहरु लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

Health Tips Ad Road Block