skip this News Page Tips Ad Road Block

२० लाख राशीको गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड, माघ २२ गतेसम्म आवेदन दिन सकिने

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । सन् २०१० मा स्थापित ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड’ को राशी २० लाख पुर्याइएको छ । आफ्नो पेशा वा ब्यवसायको माध्यमबाट देश तथा समाजलाई उल्लेखनीय योगदान पुर्याएका ब्यक्ति, संस्था वा समूहलाई प्रदान गरिने यो अवार्डको राशी रु. १० लाखबाट बढाएर सन् २०२४ मा रु. २० लाख पुर्याइएको हो । रोटरीले एक प्रस विज्ञप्ति जारी गरी यसपालीको अवार्डका लागि माघ २२ गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

अवार्डको मुख्य उद्देश्य रोटरी आचारसंहिताको वास्तविक मर्मअनुसार निस्वार्थ र समर्पित भावनाका साथ आफ्नो पेशागत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने कुनै व्यक्ति, व्यक्तिहरूको समूह वा संस्थालाई सम्मान गर्नु रहेको आयोजकको भनाइ छ । साथै पुरस्कारले भविष्यमा पनि उल्लेखनीय कार्य गर्न प्रेरित गर्ने विश्वास संस्थाले लिएको छ ।

यस्तो छ रोटरी अवार्डबारेको प्रेस विज्ञप्ति

रोटरी इन्टरनेशनल संसारको सबैभन्दा पुरानो सेवामुलक संस्था हो । सन् १९०५ मा अमेरिकाको सिकागो शहरबाट सुरु भएको यो संस्थामा विश्वभर २२१ मुलुकहरुमा ४६ हजार भन्दा बढि रोटरी क्लबहरुमार्फत १२ लाख भन्दा बढि सदस्यहरु रोटरी सेवामा सक्रिय छन् । नेपालमा रोटरीको शुरुवात सन् १९५९ मा भएको हो तथा सन् २००८ सम्म नेपालको रोटरी अभियान भारत कै रोटरी डिष्ट्रिक्ट अन्तर्गत संचालित थियो । सन् २००८ जुलाई महिनादेखि नेपालमा छुट्टै रोटरी डिष्ट्रिक्ट ३२९२ को स्थापना भयो । हाल नेपालमा १६३ वटा रोटरी क्लबहरुले स्थानीयस्तरमा गर्दै आएका विभिन्न कार्यहरुको साथसाथै राष्ट्रियस्तरमै थप उल्लेखनीय कार्यहरु गर्दै जाने जमर्को गर्दै आईरहेका छन् । यस दिशामा सन् २०१० मा ‘गोपाल–कमला राजभण्डारी रोटरी अवार्ड’ स्थापना गरी आफ्नो पेशा वा ब्यवसायको माध्यमबाट देश तथा समाजलाई उल्लेखनीय योगदान पुर्याएका ब्यक्ति, संस्था वा समूहलाई रु १० लाखको नगद पुरस्कारको सुरुवात भएको थियो ।

सन् २०२४ देखि पुरस्कारको राशीमा वृद्धि गरी २० लाख रुपैयाँ पुर्याइएको छ र हरेक वर्ष प्रदान गर्ने गरिएको छ । २० लाख रुपैयाँ राशीको यस वर्षको गोपाल कमला राजभण्डारी रोटरी अवार्ड पानी, सरसफाइ तथा स्वच्छता क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति, संस्था वा समूहलाई प्रदान गरिनेछ ।

यस पुरस्कारको मुख्य उद्देश्य रोटरी आचारसंहिताको वास्तविक मर्मअनुसार निस्वार्थ र समर्पित भावनाका साथ आफ्नो पेशागत क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गर्ने कुनै व्यक्ति, व्यक्तिहरूको समूह वा संस्थालाई सम्मान गर्नु हो । यस पुरस्कारले भविष्यमा पनि उल्लेखनीय कार्य गर्न प्रेरित गर्ने विश्वास लिएका छौं ।

नेपालको कुनै पनि नागरिक वा नागरिकहरूको समूह, वा नेपालको कानूनअनुसार दर्ता भएका संस्थाहरू, जसले पुरस्कार समितिले समय–समयमा तोकेको क्षेत्रमा संलग्न रही तल उल्लेखित उपलब्धि हासिल गरेका छन् भने यस पुरस्कारका लागि योग्य हुनेछन्/हुन्छन् ।

पेशा, व्यवसाय तथा उद्योगमा निरन्तर उत्कृष्टता प्रदर्शन गरेको, उच्च नैतिक र चारित्रिक मूल्य कायम गरेको, दूरदृष्टि, नवप्रवर्तन वा सिर्जनशीलता तथा जोखिम लिन सक्ने साहस देखाएको, अरूलाई प्रेरणा र उत्प्रेरणा प्रदान गरेको, पेशागत वा सेवा क्षेत्रमा वा त्यसबाहिर आफ्नो करियर विशेषतामा दीर्घकालीन र महत्वपूर्ण प्रतिबद्धता देखाएको, समुदायका अन्य व्यक्तिहरूको जीवनस्तर उकास्न योगदान पुर्याएको तथा अवसरको विस्तारलाई प्रवद्र्धन र समर्थन गरेको, कर्तव्यको सीमाभन्दा माथि उठेर सेवा गरेको एवंम समाजमा उदाहरणीय कार्य गरेको योग्य व्यक्ति/संस्था, रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गत रहेका कुनै पनि रोटरी क्लब यस पुरस्कारका लागि योग्य रहेका छन् ।

यस पुरस्कारको लागि रोटरी डिष्ट्रिक्ट कार्यालय, थापाथली रोटरी भवन र देशभर रहेका १६३ क्लबहरुबाट आवेदन फारमहरु प्राप्त गर्न र बुझाउन सकिने छ साथै अनलाईनबाट -https://districtgrants.rotarydistrict3292.org.np/gopal-kamala-rajbhandari-rotary-award-for-wash-water-and-sanitation/)  मार्फत पनि आवेदन फारम भर्न सकिने छ । आवेदन फारम भर्ने/बुझाउने अन्तिम मिति २०८२ माघ २२ गते (५ फेबु्रअरी २०२६) रहेको छ । यो पुरस्कार यही फागुन ७ देखि ९ गतेसम्म (फेबु्रअरी १९ देखि २१, २०२६) पोखरामा आयोजना हुने १८औं डिष्ट्रिक्ट कन्फरेन्समा प्रदान गरिनेछ ।

 

Health Tips Ad Road Block