काठमाडौं । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा–२ बाट आफ्नो उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश दिँदै डा. भट्टराईले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । आफू अभिभावकीय भूमिकामा रहेर कार्य गर्ने उद्घोष गर्दै उनले आफ्नो उम्मेदवारी फिर्ता लिएको स्पष्ट पारेका छन् ।
यस्तो थियो डा. भट्टराईकाे उम्मेदवार मनाेनयन गर्दैगर्दा आसन्न प्रतिनिधिसभा निर्वाचनमा गोरखा–२ बाट उम्मेदवारी दिनुका प्रमुख ५ लक्ष्य/कारणहरु
१. बद्लिदो भू–राजनीतिक परिस्थिति र अन्तर्राष्ट्रिय सामरिक टक्करबाट जोगाएर राष्ट्रिय स्वाधीनता,सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षा गर्ने कार्यमा योगदान गर्न ।
२. देशमा नयाँ र पुराना राजनीतिक दलहरूवीच र दलहरूभित्रको बढ्दो द्वन्द, असमझदारीले संघीय लोकतान्त्रिक गणतन्त्र नै संकटमा पर्नसक्ने स्थितिमा समन्वयकारी र अभिभावकीय भूमिका सहित लोकतन्त्रको रक्षामा योगदान गर्न ।
३.जेन–जी विद्रोहको पृष्ठमूमि र संविधानसभाबाट संविधान निर्माणको दश वर्ष पूरा भएको अवस्थामा संविधानमा आवश्यक संशोधन र सुधारकोनिम्ति संविधानको एक प्रमुख निर्माणकर्ताको हैसियतले प्रतिनिधिसभाबाट आवश्यक भूमिका निर्वाह गर्न ।
४.देशमा सुशासन र आर्थिक समृद्धि प्रमुख एजेण्डा बनेको वर्तमान अवस्थामा अर्थ–राजनीतिको ज्ञान र अनुभवको आधारमा देशको तीब्र आर्थिक–सामाजिक रूपान्तरणको मार्गचित्र तथा कार्ययोजना निर्माण र कार्यान्वयनमा नेतृत्वदायी भूमिका निर्वाह गर्न ।
५. गोरखाको विकास–निर्माणमा विगतमा गरेका रूपान्तरणकारी कार्यको जगमा टेकेर भविष्यमा गोरखालाई देशको आधुनिक र समतामूलक आर्थिक विकासको मोडेल बनाउन ।






















