Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तेह्रथुम नेकपा एसको पुरै टिम नेकपा एमालेमा समाहित

Citizenlife ad 2082 falgun to baishak 2083

तेह्रथुम । पूर्व मन्त्री भवानी खापुङ नेकपा (एकीकृत समाजवादी) तेह्रथुम जिल्ला कमिटीको सिङ्गो टिमसहित नेकपा (एमाले) मा प्रवेश गरेको छ । एकीकृत समाजवादीका पोलिटब्युरो सदस्यसमेत रहेका खापुङ जिल्ला अध्यक्ष योगेन्द्रप्रसाद गड्तौला नेतृत्वको टिमसहित निर्वाचनको मुखमा पुरानै पार्टी एमालेमा फर्किएका हुन् । तेह्रथुममा आयोजित कार्यक्रममा उनीहरूलाई औपचारिक रूपमा एमालेमा स्वागत गरिएको थियो।

एकीकृत समाजवादी तेह्रथुमले यस सम्बन्धमा विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक अवस्थामा लोकतान्त्रिक शासन प्रणाली कमजोर बनाउने गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शक्तिहरूको चलखेल बढ्दै गएको उल्लेख गरेको छ। यस्तो परिस्थितिमा राष्ट्रिय राजनीतिक शक्तिहरू संगठित र बलियो हुनुपर्ने आवश्यकता महसुस गर्दै एमालेमा समाहित भएको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘नेपालमा विभिन्न समयमा भएका राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धीहरूलाई संविधान २०७२ मार्फत संस्थागत गर्दै देश अघि बढिरहेको अवस्थामा लोकतान्त्रिक शासन व्यवस्थालाई नै कमजोर बनाउने प्रयास भइरहेका छन्, यसले देशलाई अस्थिरतातर्फ धकेल्दै शान्ति, स्थिरता, विकास र समृद्धिमा अवरोध पुर्‍याइरहेको छ।’

देशको वामपन्थी आन्दोलनमा देखिएको विग्रह र विभाजनले मुलुकलाई अझ कमजोर बनाइरहेको निष्कर्षसहित पटक–पटकको छलफल र विचार–विमर्शपछि नेकपा (एमाले) को नेतृत्वबाट मात्र संविधानको रक्षा, देशको विकास र समृद्धि सम्भव हुने ठहर गरिएको विज्ञप्तिमा उल्लेख छ।

सोही निर्णयअनुसार संविधान सभा सदस्य, पूर्व मन्त्री तथा तत्कालीन नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य भवानी खापुङको नेतृत्वमा केन्द्र, प्रदेश, जिल्ला, पालिका तथा वडा तहका पार्टी संरचना, तेह्रथुम–काठमाडौँ सम्पर्क मञ्च र विभिन्न जनसंगठनमा आबद्ध सम्पूर्ण नेता–कार्यकर्तासहित एमालेमा समाहित भएको जानकारी दिइएको छ।

विज्ञप्तिमार्फत आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा नेकपा (एमाले) तेह्रथुमका सूर्यध्वजावाहक उम्मेदवारलाई विजयी गराउन जिल्लावासी सम्पूर्ण नागरिकमा अपीलसमेत गरिएको छ।

Health Tips Ad Road Block