सुनसरी । सुनसरीको कृषि अनुसन्धान केन्द्रमा रहेको सिलसिले हाँसको बथानसँगै नेपालमा दुर्लभ मानिने विश्वकै सुन्दर जलपंक्षी मन्डारिन हाँस देखिएको छ। नेपालमै दुर्लभ मानिने र विश्वकै सुन्दर जलपंक्षीमध्ये गनिने मन्डारिन हाँसको जोडी इटहरी उपमहानगरपालिका–२० तरहरा क्षेत्रमा देखिएपछि यतिबेला संरक्षणकर्मी र चराप्रेमीको ध्यान तानिएको छ।
रंगीन प्वाँख र विशिष्ट बनावटका कारण विश्वकै सुन्दर हाँसमध्ये गनिने मन्डारिन (जलचर) हाँसको उपस्थितिलाई यस क्षेत्रको जलचर तथा वातावरणीय अवस्था अनुकूल बन्दै गएको संकेतका रूपमा लिइएको छ।
संसारकै सुन्दर चरामा पर्ने मण्डारिन हाँस बसाइँ सर्ने क्रममा बाटो बिराएर वा कतैबाट छुट्टिएर विरलै नेपालका जलाशयहरूमा आइपुग्ने चराविद्हरु बताउँछन् । नेपालका लागि दुर्लभ यो प्रजाति सन् १९९० मा तल्लो अरुण नदी (संखुवासभा), २०००, २०११, २०१४ र २०१९ मा चितवन, २०२० मा मस्र्याङदी नदी, २०१९–२० मा बर्जु ताल सुनसरीमा र पोखरामा २०२१ मा यो चरा देखिएको हिमालयन नेचरले जनाएको छ ।

दक्षिण कोरिया र जापानतिर पाइने लोपोन्मुख मडारिन प्रजातीको हाँस नेपालमा भेटिएको हो ।





















