काठमाडौं । उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलनका नाममा जलाइएका सरकारी र व्यक्तिगत संरचना निरीक्षण गरेर आफ्नो चुनावी अभियान थाल्ने उद्घोष गरेका छन् । पार्टी क्षेत्रीय समन्वय कमिटी झापा ५ का संयोजक नारायण प्रसाद गौतमका अनुसार भदौ २४ गते विध्वंसकारी समूहले तोडफोड र आगजनी गरेका यस क्षेत्रका सम्पूर्ण संरचनाहरु अध्यक्ष ओलीले निरीक्षण गर्ने र पीडितहरुलाई भेट्ने कार्यक्रम रहेको छ । आज दमकस्थित इलाका प्रहरी कार्यालयको भवनको निरीक्षण गरेर अभियान सुरु गरिने गौतमले जानकारी दिए ।
एमाले दमक नगर कमिटी अध्यक्ष राम पौडेलका अनुसार बिहान १० बजे देखि १२ बजेसम्म अध्यक्ष ओलीले क्षतिग्रस्त संरचनाको निरीक्षण गर्ने र पीडितहरुलाई भेट्ने कार्यक्रम तय गरिएको छ । आज इलाका प्रहरी कार्यालय दमक, दमक नगरपालिका,दमकका मेयर राम थापाको निवास,नेपाली काँग्रेसको पार्टी कार्यालय, पूर्व मेयर रोमनाथ ओलीको निवास, अध्यक्ष ओलीको आफ्नो निवास, नेपाली काँग्रेस दमक नगरको कार्यालय, एमाले दमक कार्यालय र एमालेका युवा नेता बुद्धि थापाको निवास आदिको निरीक्षण गर्ने योजना बनाइएको छ । आजै १ बजे अध्यक्ष ओलीले फागुन २१ गते हुने निर्वाचनका लागि झापा ५ बाट उम्मेद्वारी दर्ता गर्ने र अन्य राजनीतिक बैठकहरु भएकोले जलाइएका अन्य संरचनाहरु अर्को दिन निरीक्षण गर्ने कार्यक्रम बनाइने पौडेलले जानकारी दिए ।
जेनजी आन्दोलनका क्रममा झापा क्षेत्र नं ५ मा सरकारी र व्यक्तिगत गरी करिब २५ वटा संरचना ध्वस्त पारिएका थिए ।
गौतमका अनुसार यस क्षेत्रका अन्य पालिकाहरु कमल गाउँपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा जलाइएका संरचना पनि अध्यक्ष ओलीले समय व्यवस्थापन गरेर निरीक्षण गर्ने कार्यक्रम छ ।





















