skip this News Page Tips Ad Road Block

प्रतिनिधि सभा निर्वाचनः आज देशैभर एकैपटक मनोनयन दर्ता हुँदै, उम्मेदवारी दर्ता गर्न नागरिकता अनिवार्य

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज देशैभर एकैपटक मनोनयन दर्ता हुँदैछ । निर्वाचन आयोगले निर्वाचन कार्यतालिका संशोधन नहुने स्पष्ट पार्दै आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका मनोनयन दर्तामा सहभागी हुन सबैलाई अपील गरेको छ ।

कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष, भयमुक्त वातावरणमा हुनेमा कुनै शङ्का उपशङ्का नगर्न आग्रह गर्दै सबै क्षेत्रबाट सहयोगको होस् भनेर अनुरोध गरेका छन् । कार्यतालिकाअनुसार नै आयोग अगाडि बढेको जानकारी दिँदै उनले माघ ६ गते आजको कार्यतालिका पनि कुनै संशोधन नभएको उनको भनाइ छ । तोकिएकै समयमा निर्वाचन हुनेमा शंका नगर्न उनले सबैलाई आग्रह गरेका छन् ।

नागरिकले आफ्नो प्रतिनिधि छान्ने लोकतन्त्रको सुन्दर अभ्यास निर्वाचन भएको उल्लेख गर्दै भण्डारीले नागरिकको इच्छालाई कसैले पनि निषेध गर्न नसक्ने दाबी गरेका छन् ।

उम्मेदवारी मनोनयनका क्रममा उम्मेदवारले वारेसको अधिकार प्रयोग गर्न पाउने आयोगको भनाइ छ । उम्मेदवारी कायम गर्न कानुन र आचारसंहिताले निषेध गरेका गतिविधि नगर्न आयोगले भनेको छ । यसैबीच प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउन प्रत्यक्षतर्फ नागरिकताको प्रमाणपत्र अनिवार्य कागजातका रूपमा आवश्यक हुने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत आज १६५ निर्वाचन क्षेत्रमा नै मनोनयन दर्ता हुनेछ । यसका लागि १६५ निर्वाचन क्षेत्रमा नै निर्वाचन अधिकृतका कार्यालय स्थापना भएका छन् ।

Health Tips Ad Road Block