Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

काठमाडौंको वनस्थलीमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न, ४ वर्षदेखि ८८ वर्षसम्मका नागरिक लाभान्वित

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । काठमाडौंको वनस्थली चोकमा ॐ समाज डेण्टल अस्पतालको आयोजनामा तथा ॐ साईबाबा अस्पतालको सह–आयोजनामा पुस २६ गते शनिबार एक भव्य निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सम्पन्न भएको छ। समुदायमै पुगेर सर्वसाधारणलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यस शिविरमा स्थानीय नागरिकहरूको उल्लेख्य सहभागिता रहेको थियो।

शिविरमा ४ वर्षका बालबालिकादेखि ८८ वर्षसम्मका ज्येष्ठ नागरिकहरूले स्वास्थ्य तथा दन्त परीक्षण गराएका थिए। विशेषगरी ज्येष्ठ नागरिक, महिला तथा विपन्न वर्गका व्यक्तिहरूले शिविरबाट प्रत्यक्ष लाभ लिएको आयोजकले जनाएको छ।

शिविरमा सेवा लिएकी ८८ वर्षीया एक आमाले वरिष्ठ सर्जन डा. सुवास घिमिरेप्रति धन्यवाद व्यक्त गर्दै भनिन्, “हामीजस्ता बुढाबुढीका लागि नजिकै आएर यसरी शिविर राखी सेवा गर्नु भएकोमा अत्यन्तै खुशी लाग्यो। साँच्चै तपाईंहरूलाई भगवान्ले हेर्नु हुन्छ।” उनका यी शब्दहरूले शिविरको मानवीय महत्वलाई अझ प्रष्ट बनाएको उपस्थितहरूले बताएका छन्।

ॐ समाज डेण्टल अस्पताल वनस्थली शाखाकी प्रमुख सविना पपन गुरुङले आजको शिविरबारे प्रतिक्रिया दिँदै भनिन्, “आजको शिविरमा ८८ वर्षीया आमाको उपचार गर्न पाउँदा हामी साँच्चिकै भाग्यमानी महसुस गरिरहेका छौं। ज्येष्ठ नागरिकहरूको अनुहारमा देखिएको सन्तुष्टि नै हाम्रो सेवाको सबैभन्दा ठूलो उपलब्धि हो।”

शिविरमा दन्त उपचार सेवाका लागि डा. पूजा थापा, सहायक रिता नेपाली तथा जुनु पण्डितको सक्रिय सहभागिता रहेको थियो। उनीहरूको व्यावसायिकता, समर्पण र सेवाभावका कारण शिविर अझ व्यवस्थित र प्रभावकारी बनेको आयोजक पक्षले जनाएको छ।

ॐ समाज डेण्टल अस्पताल नेपालका प्रमुख दन्त अस्पतालहरूमध्ये एक हो, जसले अत्याधुनिक प्रविधि र अनुभवी दन्त चिकित्सकहरूको टोलीमार्फत उच्च गुणस्तरीय दन्त सेवा प्रदान गर्दै आएको छ। अस्पतालले सामान्य तथा विशेषज्ञ दन्त परीक्षण, दाँत सफा गर्ने, जरा उपचार, दन्त शल्यक्रिया, दाँत सीधा गर्ने, कृत्रिम दाँत तथा इम्प्लान्ट, बाल दन्त उपचार, डिजिटल एक्स–रेलगायतका सेवा उपलब्ध गराउँदै आएको छ। साथै, सामाजिक उत्तरदायित्व अन्तर्गत नियमित रूपमा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गर्दै आएको छ।

सह–आयोजक ॐ साईबाबा अस्पतालले पनि आजको शिविरमा महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो। स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधि समेत निःशुल्क उपलब्ध गराइएकाले शिविरमा आएका सेवाग्राहीहरू खुसी भएर फर्किएको स्थानीयवासीहरूले बताएका छन्।

अस्पतालका शिविर व्यवस्थापक कपिल खनालले भने, “हामी सधैंजस्तै शिविरमा आवश्यक पर्ने औषधि लिएर जानेछौं। स्वास्थ्य परीक्षणसँगै औषधि उपलब्ध गराउँदा सेवाग्राहीलाई वास्तविक राहत मिल्छ भन्ने हाम्रो विश्वास हो।”

समुदायप्रतिको उत्तरदायित्व, मानवसेवा र स्वास्थ्य सचेतनालाई केन्द्रमा राखेर आयोजना गरिएका यस्ता निःशुल्क स्वास्थ्य तथा दन्त शिविरहरूले आम नागरिकमा स्वास्थ्यप्रति चेतना बढाउनुका साथै स्वास्थ्य सेवामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको डाक्टर सुवास घिमिरेले बताएका छन् ।

यस अवसरमा सामाजिक अभियन्ता तथा पत्रकार राजन थापाले ॐ समाज डेण्टल अस्पतालको भूमिकाको प्रशंसा गर्दै भने, “सडकदेखि सदनसम्मका मानिसहरूका लागि साँचिकै सेवाको भाव बोकेको अस्पताल ॐ समाज डेण्टल अस्पताल हो। नाफाभन्दा माथि उठेर मानवसेवा र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गरिरहेको यो अस्पताल आम नागरिकका लागि भरोसायोग्य स्वास्थ्य संस्थाको रूपमा स्थापित हुँदै गएको छ।”

Health Tips Ad Road Block