पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिकामा आज बिहानदेखि चार दिनसम्म बिजुलीको लाइन काटिने भएको छ । नेपाल विद्युत प्राधिकरण पोखरा ग्रिड महाशाखाले एक सूचना प्रकाशन गरी यसबारे जानकारी दिएको हो । महाशाखाका अनुसार पोखरा उपत्यकामा बिजुली वितरण गरिने कुँडहर सबस्टेशनमा १३२ केभी बसबार मर्मत गर्न दैनिक पाँच घण्टा बिजुली काटिने भएको हो ।
शुक्रबारेखि सोमबारसम्म बिहान ६ बजेदेखि ११ बजेसम्म बिजुलीको लाइन काटेर बसबार मर्मत गरिने महाशाखाको भनाइ छ । सबस्टेसनको बसबार मर्मत सकिएपछि भने नियमित विद्युत् आपूर्ति हुने पोखरा वितरण केन्द्रले जनाएको छ ।






















