मुस्ताङ । नेपाल–चीन जोड्ने कोरला नाकाको नेपालतर्फ विशेष आर्थिक क्षेत्र स्थापनाका लागि सम्भाव्यता अध्ययन थालिएको छ । कोरला नाकास्थित नेपालतर्फको दशगजा क्षेत्रमा भन्सार कार्यालय, अध्यागमन, गोदामसहित अन्य आवश्यक पर्ने भौतिक पूर्वाधार बनाउन अर्थ मन्त्रालयले विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को अध्ययनको थालनी गरेको हो । आवश्यक संरचना बनाउन अध्ययनको जिम्मा पाएको ओजा इन्जिनियरिङ प्रालिले चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने कोरला नाकामा चिनियाँ संरचना बनेको वारिपट्टि नेपाली भू-भागमा पाँच सय रोपनी क्षेत्रफलमा बनाउन सकिने भौतिक संरचना तथा नेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयको एक सय १० रोपनीको जिपिएसको प्रयोग गरी अध्ययन थालिएको जनाएको छ ।
कोरला नाकाको दशगजा क्षेत्रमा भौतिक पूर्वाधार नहुँदा नेपालको सीमापार व्यवसायमा समेत असर गरेको छ । भौतिक पूर्वाधारका लागि सम्भाव्यता अध्ययन गर्न अर्थ मन्त्रालयले १८ लाख बजेट विनियोजन गरेको थियो । समुन्द्री सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरला क्षेत्रमा रहेको ६ सय रोपनी क्षेत्रफलमध्ये सरकारी संरचना अति आवश्यक रहेको सीमाक्षेत्रमा व्यापार गर्ने स्थानीयको भनाइ छ ।
अहिले कोरलाको पारी लिची क्षेत्रमा चीनले धमाधम संरचना बनाइरहँदा नाकाको वारिपट्टि नेपाल टहरामा गुजरा चलाउनुपर्ने बाध्यता छ । भदौ महिनाको अन्तिम सातादेखि पुस महिनाको पहिलो सातासम्म नाकाबाट ५ अर्बभन्दा बढी राजस्व संकलन गरिएको छ ।






















