Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एफएनसीसीआईको आयोजनामा आज ‘सर्वपक्षीय राष्ट्रिय संवाद’ आयोजना हुँदै

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आज “शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य” विषयक सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना हुने भएको छ । प्रधानमन्त्री सुशीला कार्कीको प्रमुख आतिथ्यमा आयोजना हुने सो संवादमा प्रमुख राजनीतिक दल, निजी क्षेत्र, युवा पुस्ता (जेनजी) नागरिक समाज तथा सञ्चार क्षेत्रको सहभागिता रहने छ ।

उक्त संवादमार्फत राजनीतिक स्थायित्व, आर्थिक सुधार, लगानी अभिवृद्धि र युवाको भूमिकाबारे साझा धारणा निर्माण गर्ने लक्ष्य राखिएको महासंघले जनाएको छ ।

मुलुकको आर्थिक पुनरुत्थानका लागि शान्ति र स्थायित्व अपरिहार्य शर्त भएको उल्लेख गर्दै देशको विकास र समृद्धिको लागि साझा धारणा तय हुन सकोस भन्ने उद्देश्यसहित महासंघले सर्वपक्षीय राष्ट्रिय संवाद आयोजना गरेको महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले जानकारी दिएका छन् ।

“राजनीतिक स्थायित्व, स्पष्ट नीतिगत दिशा र विश्वासयोग्य वातावरण बिना लगानी सम्भव हुँदैन,” अध्यक्ष ढकालले भने, “यही कारण महासंघले सबै सरोकारवालालाई एउटै मञ्चमा ल्याएर संवाद र सहकार्यको वातावरण बनाउन यो पहल गरेको हो ।”

उनले निजी क्षेत्र मुलुकको समृद्धिको प्रमुख साझेदार भएको उल्लेख गर्दै युवापुस्ताको ऊर्जालाई उद्यम, नवप्रवर्तन र उत्पादनशील क्षेत्रमा जोड्न सकिए अर्थतन्त्रलाई नयाँ गति दिन सकिने बताए । महासंघले आयोजना गर्न लागेको उक्त कार्यक्रमले सरकार, राजनीति, निजी क्षेत्र र युवाबीच विश्वास अभिवृद्धि गर्दै दीर्घकालीन आर्थिक विकासका लागि साझा कार्यदिशा तय गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

मुलुकमा शान्ति सुव्यवस्था कायम गर्न, लगानीमैत्री वातावरण निर्माण गर्न तथा निजी क्षेत्रको मनोबल उच्च राख्ने उद्देश्यले निरन्तर छलफल, अन्तरक्रिया तथा पैरवी गर्दै आएको छ । सोही प्रयासको निरन्तरतास्वरूप महासंघले हालै “राष्ट्रिय आर्थिक बहस २.०” सफलतापूर्वक सम्पन्न गरेको थियो ।

Health Tips Ad Road Block