काठमाडौँ । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि समाजमा उत्पन्न तनाव र अभाव कम नभएको सरोकारवालाले बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घ (अकोराब) नेपालले आज काठमाडौँमा आयोजना गरेको ‘समसामयिक सवालहरूबारे अन्तर्क्रिया’ कार्यक्रममा शान्ति, सामाजिक न्याय तथा युवा पुस्ताले भोगिरहेका चुनौतीहरूका बारेमा छलफल भएको हो । कार्यक्रममा मानवअधिकारकर्मी तथा नागरिक समाजका अगुवा शुभाकर बुढाथोकीले जेन जी आन्दोलनपछि देशको वर्तमान अवस्थाले चुनौतीसँगै अवसरको सम्भावना सिर्जना गरेको बताए । उनले जेनजी आन्दोलनले सामाजिक र राजनीतिक रूपान्तरणको सम्भावना देखाएको भन्दै जेन जी पुस्ताले उठाएका सवालहरू गम्भीर प्रकृतिको रहेको बताए।
जेनजी पुस्ता र सरकारबीच विश्वासको सङ्कट देखिएको उल्लेख गर्दै उनले निर्धारित समयमा निर्वाचन गर्नुपर्नेमा जोड दिए। ‘समाज हाल विभाजित अवस्थामा रहेको छ । लोकतन्त्रलाई संस्थागत गर्नु ठूलो चुनौती भएको छ । जेनजी आन्दोलनपछि भागेका कैदीबन्दीका कारण पनि आगामी फागुन २१ को निर्वाचनमा चुनौती सिर्जना हुनसक्छ ।’ बुढाथोकीले थपे ।
सामाजिक तथा धार्मिक सद्भाव खलबलाउने कार्यमा बाह्य पक्ष सक्रिय हुन सक्ने भन्दै सरकारी तथा गैरसरकारी निकायले सतर्कता अपनाउनुपर्ने आवश्यकता उनले औँल्याए।
कार्यक्रममा नेपाल प्रहरीका अवकाश प्राप्त डीआईजी हेमन्त मल्लले जेनजी आन्दोलनले चक्र पूरा नगरेका कारण पनि समाजमा विभिन्न शङ्का तथा अन्योल कायम रहेको धारणा राखे । जेनजीका मागहरू समान भए पनि त्यसका बारेमा राजनीतिक भूमिकामा रहेका व्यक्तिहरूका विचार फरक परेको बताउँदै उहाँले राजनीतिक दलहरूले आन्दोलनलाई स्वीकार गर्न नसकेको बताए। आन्दोलनपछि सुरक्षा चुनौती गम्भीर बनेको र खुला सीमा नाकाका कारण आपराधिक गतिविधि बढेको उनको भनाइ थियो । मल्लका अनुसार जेनजी आन्दोलनकारीहरूबीच एकताको अभाव अहिलेको सबैभन्दा ठूलो समस्या हो । यसले भविष्यमा मूठभेड निम्त्याउन सक्ने उनको पूर्वानुमान छ ।
मल्लले जेनजी आन्दोलनमा भएको क्षतिको मुख्य कारण भ्रामक सूचना रहेको उल्लेख गर्दै प्रहरी र सशस्त्र प्रहरीको भूमिका फरकफरक रहेका कारण पनि क्षति बढेको हुन सक्ने धारणा राखे । ‘आन्दोलनको बेला प्रहरी र समुदायबीच सम्बन्धमा चिसोपना आए पनि हाल सुधार भएको छ ।’ मल्लले थपे ।
अन्तरक्रियामा सहभागी प्रकाश कपालीले जेनजी आन्दोलनमा सरकारले दमन गरेको भन्दै सुरक्षाकर्मीबाट भएका केही घटनाहरूमा मावन अधिकारको उल्लङ्घन गरिएको र हिजोआजका दिनमा पनि आन्दोलनमा सहभागी युवा, उनीहरूका अभिभावकमा मानसिक तनाव बढेको बताए ।
जेन्जीहरूको मनसाय राज्यको सम्पत्तिमा क्षति पुर्याउने नभएको उनको भनाइ थियो ।
भूमिअधिकारकर्मी रुपा बस्नेतले आन्दोलनका क्रममा भूमिहीनहरूको कागजात जलेर नष्ट भएको उल्लेख गर्दै उनीहरूले न्याय कसरी पाउने भन्ने बारेमा अझैँ अन्योल रहेको विचार राखे । भूमिहीनका मुद्दालाई राजनीतिकरण गरिएको भन्दै उनीहरूको अवस्था कसरी सहज बनाउन सकिन्छ भन्ने बारेमा राम्रोसँग छलफल गर्नुपर्ने धारणा राखे ।
मनोविद सविना गिरिले आन्दोलनका कारण जेन्जी पुस्तामा मनोवैज्ञानिक असर परेको भन्दै यस विषयमा खुला बहस आवश्यक रहेको बताइन् ।
मानिसहरू सामान्य जीवनमा फर्किए पनि पहिलाको अवस्था जस्तै नरहेको उनको भनाइ थियो । सामाजिक सञ्जालमा फैलिएको भ्रामक तथा मिथ्या सूचनाले पनि मनोविज्ञानमा नकारात्मक असर पारेको उहाँको भनाइ थियो । परिवारभित्र जेन जी पुस्ताको कुरा सुन्ने वातावरण बनाउनुपर्ने आवश्यकता पनि गिरीले औँल्याइन् । जेन्जी पुस्तामा विशेषगरी डिप्रेसन, अनिद्रा जस्ता समस्या देखिएको भन्दै समाजले उनीहरूलाई बुझ्नुपर्ने आवश्यकता मनोविद् गिरीले औँल्याइन् ।
अधिवक्ता गणेश ओलीले जेनजी आन्दोलनपछि अदालतहरू प्रभावकारी रूपमा सञ्चालन हुन नसकेको र कतिपय अदालतमा भएका कागजात पनि नष्ट भएका कारण पीडितमाथि झन पीडा थपिएको टिप्पणी गरे ।
आन्दोलनपछि जेनजी युवाबाट धम्की, एआई प्रयोग गरी चरित्र हत्या, देशमा साइबर आक्रमण बढेको पनि उनको भनाइ छ ।
अधिवक्ता यानिश बस्नेतले जेनजीको शक्ति अनुभूति भएको बताउँदै अदालतमा काम गर्ने वातावरण र सुरक्षाको अनुभूति नभएको गुनासो गरे।
कार्यक्रममा सहभागी सरिता कार्कीले पहिले र अहिलेको अवस्था फरक रहेको भन्दै समयअनुसार परिवर्तन आवश्यक रहेको बताइन् ।
अधिवक्ता विपना शर्माले समाज तथा सिङ्गो देशमा अन्योल रहेको उल्लेख गर्दै निर्धारित समयमा निर्वाचन भएमा राम्रो हुने बताइन् ।
उनले जेनजी पुस्ताको बुझाइ फराकिलो बनाउन सरकार, सरोकारवलादेखि परिवार र समाजसम्मले महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखिन् ।
पेमा लामाले अहिलेको युवा पुस्ता देशमै बस्न नचाहेको भन्दै सरकार यस विषयमा गम्भीर हुनुपर्ने बताइन् । उनले जेनजी युवाहरू आन्दोलनमा सहभागी भए पनि देशको समग्र अवस्थाले गर्दा यहाँ भविष्य नदेखेको धारणा राख्दै सबै पक्ष जिम्मेवार भएर सोच्नुपर्ने आवश्यकता औँल्याइन् ।






















