Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

चितवनमा जंगल–सफारी गाइडका लागि दिइयो  वाइल्डरनेस फस्ट-एड तालिम 

Citizenlife ad 2082 falgun to baishak 2083

चितवन । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा कार्यरत प्रकृति तथा जंगल–सफारी गाइडहरूको सुरक्षात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले वाइल्डरनेस फस्ट एड तालिम प्रदान गरिएको छ।

नेपाल पर्यटन बोर्ड (NTB) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (UNDP) को संयुक्त पहलअन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी)द्वारा आयोजित उक्त तालिम हिमालयन मेडिक्सको सहकार्य तथा नेचर गाइड एसोसिएसन, चितवन राष्ट्रिय निकुञ्जको समन्वयमा प्रदान गरिएको हो ।

तालिममा चितवन राष्ट्रिय निकुञ्ज आसपासका जंगल–सफारी तथा प्रकृति गाइड गरी २४ जना सहभागी थिए । पुष ७-८ गते दुईदिने तालिममा आकस्मिक दुर्घटना, वन्यजन्तु आक्रमण, सर्पदंश, चोटपटक, अत्यधिक गर्मी वा चिसोका कारण उत्पन्न स्वास्थ्य समस्या, प्राथमिक उपचार, सीपीआर, घाइतेको सुरक्षित स्थानान्तरण लगायतका विषयमा व्यावहारिक अभ्यास केन्द्रित प्रशिक्षण प्रदान गरिएको हो ।

तालिमका मुख्य प्रशिक्षक अजय नरसिंह राणाले जंगल, नदी तथा दुर्गम क्षेत्रमा हुने सम्भावित स्वास्थ्य आपतकालीन अवस्थालाई ध्यानमा राख्दै गाइडहरूलाई तत्काल प्रतिक्रिया जनाउन सक्ने सीप अत्यन्तै आवश्यक रहेको बताए । “पर्यटकको सुरक्षामा गाइडको भूमिका पहिलो र निर्णायक हुन्छ, त्यसैले यस्ता तालिमले जीवन जोगाउन महत्वपूर्ण योगदान पुर्‍याउँछ,” उनले भने।

चितवन राष्ट्रिय निकुञ्ज नेपालका प्रमुख प्रकृति तथा वन्यजन्तु पर्यटन गन्तव्यहरूमध्ये एक हो, जहाँ हरेक वर्ष लाखौं आन्तरिक तथा बाह्य पर्यटक आउने गर्छन्। यस्ता गन्तव्यमा सुरक्षित, उत्तरदायी र व्यावसायिक पर्यटन प्रवर्द्धनका लागि गाइडहरूको क्षमता अभिवृद्धि अपरिहार्य भएकाले यो तालिम प्रदान गरिएको दिगो पर्यटन परियोजना प्रबन्धक धर्मराज दवाडीले बताएका छन् ।

उनले थपे, “यो तालिमले पर्यटक सुरक्षामा सुधार ल्याउनुका साथै स्थानीय गाइडहरूको व्यावसायिकता, आत्मविश्वास र अन्तर्राष्ट्रिय स्तरको सेवा गुणस्तर बढ्ने विश्वास लिएको छु ।” आगामी दिनमा यस्ता तालिमलाई अन्य संरक्षित क्षेत्रहरूमा पनि विस्तार गर्ने तयारी रहेको जनाइएको छ।

Health Tips Ad Road Block