काठमाडौँ । तीनवटा होटललाई सरकारले कारवाही गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित अनुगमनकाक्रममा तीन होटललाई जरिवानासहित कारवाही गरेको हो ।
विभागका अनुसार होटल ब्लिस्फुल प्रालि कोटेश्वर काठमाडौँलाई ५० हजार रुपैयाँ जरिवाना, गोल्मादेवी भोजनालय एण्ड लजलाई पाँच हजार रुपैयाँ र चन्डेश्वरी नेवारी खाजा घर कोटेश्वरलाई पाँच हजार रुपैयाँ जरिवानासहित सचेत गराइएको छ । ती फर्मलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ बमोजिमको कसुरमा सोही ऐनको दफा ३९ को १ बमोजिम कारबाही गरिएको विभागले स्पष्ट पारेको छ ।
ऐनको दफा ३९मा तत्काल जरिवाना गर्न सक्ने उल्लेख छ । त्यसमा बजार अनुगमन, निरीक्षण, जाँचबुझ वा खानतलासीको क्रममा तत्काल प्राप्त प्रमाणबाट वस्तुको उत्पादक, ढुवानीकर्ता, सञ्चयकर्ता, पैठारीकर्ता, बिक्रेता वा सेवा प्रदायकले देहायको कुनै कसुर गरेको देखिएमा निजलाई निरीक्षण अधिकृतले तत्काल पाँच हजारदेखि तीन लाख रुपैयाँसम्म जरिवाना गर्नसक्ने उल्लेख छ ।
यसैगरी विभागले अन्य ११ फर्मको स्थलगत अनुमगन तथा निरीक्षण गरेर सुधारात्मक निर्देशन दिएको छ । विभागले कालोबजारी नियन्त्रण, अखाद्य वस्तुको बिक्री वितरणमा रोक लगाउने र कानुन कार्यान्वयन गराउने उद्देश्यका साथ नियमित रुपमा बजार अनुमगन गरिरहेको स्पष्ट पारेको छ ।






















