Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

एमसिए–नेपालद्वारा सडक मर्मत आयोजनाअन्तर्गत २.३७ करोड अमेरिकी डलर मूल्यका दुई सम्झौतामा हस्ताक्षर

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ। एमसिए–नेपालले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कम्प्याक्ट अन्तर्गत सडक मर्मत कार्य कार्यान्वयनका लागि करिव २.३७ करोड अमेरिकी डलर मूल्यका दुई वटा महत्वपूर्ण सम्झौतामा हस्ताक्षर गरेको छ। यी सम्झौताले नेपालको दीर्घकालीन आर्थिक वृद्धि तथा विकासलाई अगाडि बढाउने कम्प्याक्टको लक्ष्य हासिल गर्ने दिशामा एक महत्वपूर्ण कदमको प्रतिनिधित्व गर्ने बताइएको छ ।

एमसिए–नेपालले आज एमसीसी नेपाल कम्प्याक्ट अन्तर्गतको सडक मर्मत आयोजना कार्यान्वयनका क्रममा पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको सडक खण्डमा फूल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग गरेर सडक स्तरोन्नति कार्यका लागि शर्मा – कुमार संयुक्त उपक्रमसँग करिव दुई करोड अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको छ।

यसैगरी एमसिए–नेपालले हालै उक्त सडक खण्डको सडक स्तरोन्नति कार्य र नारायणघाट – मुग्लिङ सडक खण्डको आवधिक मर्मत कार्यको सुपरिवेक्षणका लागि इण्टरनेशनल कन्सल्टाण्ट्स एण्ड टेक्नोक्राट्स प्रालिसँग करिव ३६.६ लाख अमेरिकी डलर मूल्य बराबरको सम्झौता गरेको छ।

यी आयोजना अन्तर्गत पूर्व–पश्चिम राजमार्गको धान खोलादेखि लमहीसम्मको ४० किमि सडकखण्डमा स्तरोन्नतिको क्रममा फूल डेप्थ रिक्लेमेशन र सुपरपेभ प्रविधि प्रयोगमार्फत सात मिटरको क्यारिज वे र २.५ मिटरको शोल्डर निर्माण गरी सडकलाई १२ मिटर चौडा गरिनेछ भने नारायणघाट–मुग्लिङ सडक खण्डको आवधिक मर्मत गरिनेछ। सडक स्तरोन्नति तथा मर्मत कार्यका लागि ती नयाँ प्रविधि नेपालमै पहिलो पटक गर्न लागिएको हो।

एक समारोहबीच नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सन, अर्थ मन्त्रालयका सह–सचिव डा. धनिराम शर्मा, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकाल, सडक विभागका महानिर्देशक डा. विजय जैसी, एमसिए–नेपाल सञ्चालक समितिका सदस्यहरू, एमसीसी नेपालका निमित्त राष्ट्रिय निर्देशक सञ्जय पौडेल तथा एमसीसी र एमसिए–नेपालका कर्मचारीहरूको उपस्थितिमा एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट तथा शर्मा – कुमार संयुक्त उपक्रमका आधिकारिक प्रतिनिधि सौरभ शर्माले धान खोलादेखि लमहीसम्मको सडक खण्डको स्तरोन्नति कार्यसम्बन्धी सम्झौतामा हस्ताक्षर गर्नुका साथै उक्त सम्झौता एक आपसमा आदानप्रदान गरेका छन् ।

उक्त समारोहलाई सम्बोधन गर्दै नेपालका लागि अमेरिकी राजदूत थम्प्सनले भने, “धान खोला–लमही सडक स्तरोन्नति आयोजना र नारायणघाट–मुग्लिङ सडक मर्मत आयोजनाले कुनै एउटा सम्झौताभन्दा धेरै कुराको प्रतिनिधित्व गर्छ। संयुक्त रूपमा यिनीहरू अमेरिका–नेपाल साझेदारीको सशक्तता, मिलेनियम च्यालेञ्ज कम्प्याक्टको गति तथा नेपाली जनता एवं नेपालमा कार्यरत अमेरिकी व्यवसायीहरूका लागि मूर्त परिणाम सिर्जना गर्नका लागि सरकारका सबै तहमा साझा प्रतिबद्धता प्रतिविम्बित गर्ने अर्को उपलब्धि हुन्।”

उनले अगाडि भने, “कम्प्याक्टले नेपालमा अत्यावश्यक सडक पूर्वाधार उपलब्ध गराउँदै गर्दा यी दुई सम्झौताले फूल डेप्थ रिक्लेमेशन तथा सुपरपेभ प्रविधि प्रयोग गरेर सडक मर्मत प्रविधिमा अमेरिकाको सर्वोत्कृष्टतालाई चिनाउनेछन्।”

मन्तव्य राख्ने क्रममा अर्थ मन्त्रालयका सह–सचिव डा. धनिराम शर्माले नेपालमा पहिलोपटक भित्रिएको नवीनतम प्रविधिबाट नेपालमा दिगो, प्रभावकारी तथा मितव्ययी सडक मर्मतका लागि मार्गप्रशस्त भएको र एमसिए–नेपाल यो आयोजना समयमै सम्पन्न गर्न सक्षम रहेको विश्वास व्यक्त गरे ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव सुशील बाबु ढकालले भने, “नेपालको सडक प्रणालीको गुणस्तरमा सुधार गर्न नयाँ प्रविधि प्रयोग गरेर एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयनका लागि एमसिए–नेपालले गरिरहेको अनवरत पहल आजको यस प्रगतिमा प्रतिविम्बित भएको छ।”

एमसीसी नेपालका निमित्त राष्ट्रिय निर्देशक सञ्जय पौडेलले यस आयोजनाबाट नेपालको सडकको भरपर्दोपनामा सुधार गर्न अर्थपूर्ण रूपमा योगदान पुग्ने विश्वास व्यक्त गर्दै नेपालको सडक सञ्जालभरि नै व्यापक रूपमा उपयोग गर्न सकिने व्यावहारिक मोडेलका रूपमा पनि यो आयोजना रहने बताए । राम्ररी निर्माण गरिएका एवं मर्मतसम्भार गरिएका सडक आर्थिक वृद्धिको परिणाम मात्र नभई यिनीहरू यसको महत्वपूर्ण उत्तोलक पनि भएको विचार पनि उनले व्यक्त गरे ।

एमसिए–नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्टले भने, “सडक मर्मत आयोजनालाई अगाडि बढाउनका लागि भएका यी दुवै सम्झौता वास्तवमै उल्लेख्य उपलब्धि हुन् । यी सम्झौता अन्तर्गतका क्रियाकलापले व्यापार एवं सवारी सञ्चालन लागतलाई घटाउनेछ भने सडक सुरक्षामा अभिवृद्धि गर्नेछ र यात्राको गुणस्तरमा सुधार गर्नेछ। म नेपाल सरकार तथा हाम्रा मुख्य सरोकारवालाहरू भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभाग, एमसिए–नेपाल सञ्चालक समिति एवं एमसीसीप्रति उहाँहरूको अनवरत सहयोगका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु।”

सडक मर्मत आयोजना यातायात लागत घटाउने र नेपालका सडकको अवस्थामा सुधार गर्ने उद्देश्य बोकेको एमसीसी नेपाल कम्प्याक्टको एउटा कार्यक्रम हो।

तस्विरः एमसीए नेपाल

Health Tips Ad Road Block