Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न सीएनआई र निफ्राबीच समझदारी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच औद्योगिक क्षेत्र निर्माण एवं संचालन गर्न समझदारी भएको छ । नेपाल सरकारले घोषणा गरेको औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणमा निर्माण तथा संचालन गर्ने गरी समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीको उपस्थितिमा सीएनआइको तर्फबाट महानिर्देशक डा. घनश्याम ओझा र निफ्राको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत सूर्यबहादुर तामाङले हस्ताक्षर गरे ।

दुई संस्थाबीच भएको समझदारी अनुसार नेपाल सरकारले घोषणा गरेको चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारी अवधारणामा निर्माण तथा संचालनलाई प्राथमिकतामा राखिएको छ । यसैगरी हेटौडाको मयूरधाप र रुपन्देहीको मोतीपूर औद्योगिक क्षेत्र निर्माण तथा संचालनका लागि सहकार्य गर्ने समझदारी सीएनआई र निफ्राबीच भएको छ ।

सरकारले सार्वजनिक निजी साझेदारी अवधारणामा औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न दिने घोषणा गरे अनुसार सीएनआईले औद्योगिक क्षेत्र निर्माणका लागि निफ्रासँग समझदारी गरेको हो ।

यो समझदारीसँगै सार्वजनिक निजी साझेदारी अवधारणामा निजी क्षेत्रलाई औद्योगिक क्षेत्र निर्माण तथा संचालन गर्न दिन नेपाल सरकारलाई संयुक्त रुपमा प्रस्तावसँगै आग्रह गरिनेछ ।

सो अवसरमा सीएनआईका अध्यक्ष वीरेन्द्रराज पाण्डेले औद्योगिक क्षेत्र निर्माण एवं संचालनका लागि निफ्रासँग समझदारी गरी सुरुवातीको काम गर्न लागिएको बताएका छन् । सीएनआईं र निफ्राबीच भएको यो समझदारी निकै महत्वपूर्ण रहेको उनले बताए ।

निफ्राका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले औद्योगिक क्षेत्र निर्माण सम्बन्धमा सीएनआईसँग भएको यो समझदारीलाई निफ्राले प्रस्थान विन्दुको रुपमा लिएको बताए । उनले परिसंघसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारी अवधारणामा अगाडि लैजान सकिने बताए ।

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक ई. पदम ओलीले सरकारले पीपीपी मोडलमा निजी क्षेत्रलाई पनि औद्योगिक क्षेत्र निर्माण तथा संचालन दिने भनेकाले यो समझदारीले राम्रो सन्देश दिएको बताए ।

सो अवसरमा सीएनआईका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्ष गोकुल भण्डारी, चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरे, वागमती उद्योग परिसंघ एवं चितवन उद्योग संघका पूर्व अध्यक्ष भेषराज दुवाडी, सीएनआई उद्योग समिति सभापति राहुल अग्रवाल, उपसभापति गुरु अधिकारी, सीएनआई पूर्वाधार समिति सभापति रामकृष्ण खतिवडा, निफ्राका उपप्रमुख लगानी अधिकृत रबिन श्रेष्ठलगायत सहभागी थिए ।

Health Tips Ad Road Block