काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज पुस ३ गते देखि साधारण शेयर (आईपीओ) निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २० करोड रुपैयाँ बराबरको २० लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । जसमध्ये १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १० लाख कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गरेको हो । आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि छुट्याइएको शेयरमध्ये ६० प्रतिशत अर्थात ६ लाख कित्ता प्रत्यक्ष प्रभावित क्षेत्र लमजुङ्ग जिल्लाको क्व्होलासोथार गाउँपालिका वडा नं. ४ का बासिन्दाहरुमा बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अप्रत्यक्ष प्रभावित क्षेत्र अर्थात् सोही गाउँपालिकाको वडा नं. १, २, ३, ५, ६, ७, ८ र ९ का बासिन्दाहरुका लागि बाँडफाँट गरिनेछ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १ करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १ लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरेको हो । आईपीओमा न्यूनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा पुस १७ गते हुनेछ भने ढिलोमा माघ २ गते हुनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा पुस ७ गते र ढिलोमा पुस १७ गते हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले क्व्होलासोथार गाउँपालिका वडा नं. ४ कार्यालय, क्व्होलासोथार गाउँपालिकाको कार्यालय, कुमारी बैंक, सानिमा बैंक, प्रभु बैंक, माछापुच्छ्रे बैंकको बेसिशहर शाखा कार्यालय र भुजुङ्ग हाइड्रोपावरको सामाखुशी, काठमाडौँस्थित रजिस्टर्ड कार्यालयबाट आईपीओमा आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि आस्बा प्रणाली मार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।





















