skip this News Page Tips Ad Road Block

पुस १३ देखि पोखरामा २७ औं सडक महोत्सव हुने, नेपालको पर्यटन विकासमा टेको

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडाै‌ं । पुस १३ देखि पोखरामा २७ औं सडक महोत्सव हुने भएको छ । प्राकृतिक सौन्दर्यले भरिपूर्ण नेपालको पर्यटकीय राजधानी पोखराको मुटु लेकसाइडमा विगत २६ वर्षदेखि अनवरत रूपमा आयोजना हुँदै आएको नेपालकै सबैभन्दा ठूलो ‘पोखरा सडक महोत्सव’ २७ औं संस्करणको संघारमा आइपुगेको आयोजकले जनाएको छ । यसैलाई निरन्तरता दिँदै रेष्टुरेण्ट एण्ड बार एशोसियसन नेपाल (रेवान) पोखराको आयोजनामा पुस १३ देखि १७ गते सम्म (अंग्रेजी नयाँ वर्षको अवसरमा) फेवातालको किनार लेकसाइडको करिब साढे तीन किलोमिटर क्षेत्रमा यो महोत्सव सञ्चालन हुने भएको हो । “सडक मै खाउ, सडक मै नाचौँ, सडक मै रमाउँ” भन्ने मूल नाराका साथ खाना, संस्कृति र संगीतलाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको महोत्सवले पोखराको पर्यटनमा मात्र नभई समग्र नेपालको पर्यटन विकासमा विशेष स्थान ओगटेको छ ।

महोत्सवको ऐतिहासिक महत्व

कुनै समय अङ्ग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवार थाईल्याण्ड जाने परम्परा थियो । तर, पोखरा सडक महोत्सवले त्यो परम्परालाई तोड्दै पोखरालाई “अङ्ग्रेजी नयाँ वर्षको प्रमुख गन्तव्य” का रूपमा स्थापित गर्न सफल भएको छ । आज यो महोत्सव केवल एउटा कार्यक्रम मात्र नभई पोखराको पहिचान, ‘ब्रान्ड’ र गौरवमय इतिहासको अभिन्न हिस्सा बनिसकेको छ ।

साढे दुई दशकभन्दा लामो यस गौरवमय यात्रामा पर्यटन क्षेत्रले अनेकौँ आरोह–अवरोहको सामना गर्नुपर्यो । कहिले राजनीतिक अस्थिरता र आन्दोलनको सकस, कहिले २०७२ सालको विनाशकारी भूकम्पको पीडा, त कहिले विश्वलाई नै ठप्प पार्ने कोरोना (कोभिड–१९) महामारीको सन्नाटा पछिल्लो समय जेनजी आन्दोलन । यी सबै हाम्रा सामु पहाड बनेर उभिए । आयोजकका अनुसार यद्यपि, यस्ता विषम परिस्थिति र संकटका बाबजुद दिगो पर्यटनको परिकल्पनालाई सार्थक बनाउन निरन्तर लागिरहियो । हरेक संकट पछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनरुत्थान गर्न र ‘पोखरा सुरक्षित तथा खुला छ’ भन्ने सन्देश विश्व सामु प्रवाह गर्न यो महोत्सवले सञ्जीवनीको भूमिका खेल्यो । यहि निरन्तरताको जगमा आज २७ औं संस्करणको महोत्सव हुन लागेको हो ।

पर्यटन प्रवद्र्धन र आर्थिक आयाम

आयोजकका अनुसार पोखरा आफैंमा प्राकृतिक र सांस्कृतिक रूपमा एक ‘खुला संग्रहालय’जस्तै शहर हो । यो सडक महोत्सवले यही पहिचानलाई स्थापित गर्दै पर्यटन तथा अर्थतन्त्रमा टेवा पु¥याउने विश्वास लिइएको छ । विशेषतः जाडोयाममा सुस्ताउने पर्यटन व्यवसायलाई चलायमान बनाउँदै यसले ‘बाह्रै महिना पोखरा’ को सन्देश विश्वभर प्रवाह गरेको छ ।

यस महोत्सवले पोखरा तथा आसपासका गाउँहरूमा उत्पादन हुने कृषि उपज, हस्तकला र घरेलु सामग्रीलाई प्रदर्शन र बिक्रीको अवसर प्रदान गर्दै स्थानीय तथा ग्रामीण अर्थतन्त्रलाई गतिशील बनाएको छ । साथै क्रिसमस र नयाँ वर्षमा विदेशी पर्यटकहरूले नेपालमै बसेर रमाउन सक्ने वातावरण सिर्जना गरी विदेशी मुद्रा आर्जनमा समेत प्रत्यक्ष सहयोग पु¥याएको छ ।

महोत्सवका प्रमुख आकर्षण तथा विशेषताहरूः

१. सांस्कृतिक विविधताः नेपालका विभिन्न जातजातिका लोपोन्मुख सांस्कृतिक झाँकीहरू, मौलिक भेषभुषा र परम्परागत नृत्यहरूको प्रदर्शन । यो सांस्कृतिक हस्तान्तरण र संरक्षणको एक महत्वपूर्ण मञ्च हुनेछ ।

२. स्वादको उत्सव (फुड फेस्टिवल)ः “सडकमै खाऔं” भन्ने नारालाई सार्थक पार्दै सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिकारहरूको प्रत्यक्ष स्वाद लिन पाइने व्यवस्था ।

३. मनोरञ्जनः नेपालका ख्याति प्राप्त राष्ट्रिय कलाकारहरूको ‘लाइभ कन्सर्ट’, मौलिकलोक दोहोरी गीत प्रस्तुति ।

४. साहसिक तथा खेलकुद गतिविधिः फेवातालमा बोट रेस, वेटर रेस, टग अफवार र पर्यटकहरूका लागि लक्षित विशेष खेल गतिविधिहरू ।

५. शैक्षिक तथा प्रवद्र्धनात्मक कार्यक्रमः पोखराको पर्यटनका अवसर र चुनौतीबारे विज्ञहरूसँग ’टक शो’ पोखराको सौन्दर्य झल्कने वृत्तचित्र प्रदर्शन र फोटो प्रदर्शनी ।

मुख्य प्रायोजक गोर्खा ब्रुअरी प्रालि, सह–प्रायोजकहरूः बोटलर्स नेपाल (तराई) लि, दि नेपाल डिष्टिलरी प्रालि, यति डिष्टीलरी प्रालि, नेपाल टेलिकम र जेवाइएन रहेका रहेका छन् । बैंकिङ पार्टनरमा सिद्धार्थ बैंक लिमिटेड रहेको छ । प्रवद्र्धकहरूमा गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषद् पोखरा भ्रमण वर्ष २०२५ रहेको छ । सहयोगी संस्थाहरुमा म पानी, गृहलक्ष्मी ग्यास, अन्नपूर्ण केबल कार, रेड बुल लगायत रहेका छन् ।

Health Tips Ad Road Block