काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको ५१ प्रतिशत भन्दा बढी लगानी रहेको दिव्य ज्योति हाइड्रोपावर लिमिटेडले लमजुङमा ५० मेगावाट क्षमताको मर्स्याङ्दी वेसी जलविद्युत आयोजना निर्माण गर्दा त्यसबाट स्थानीयले लाभै लाभ प्राप्त गर्ने भएका छन् । कम्पनीले स्थानीयको चासो र चिन्ताको उचित सम्बोधन गर्ने गरि आयोजना निर्माण गर्ने प्रतिवद्दता जनाएको छ। स्थानीयले चासोको साथ उठाएको वातावरण, सस्कृति एवं पुरातात्विक विषयहरुलाई गम्भिरताका साथ लिएको र आयोजनाको निर्माण गर्दा ति चासोलाई समेटिने कम्पनीले उल्लेख गरेको छ। यो आयोजना पनि नेपाल विद्युत प्राधिकरणले भोटेवडारमा निर्माण गरेको ७० मेगावाटको अर्ध जलाशययुक्त मध्य मर्स्याङ्दी आयोजना जस्तै हो कि भन्ने डर स्थानीयमा देखिएको छ । तर कम्पनीले भने यी दुवै आयोजना फरक प्रकृतिको भएको प्रष्ट पारेको छ।
कम्पनीका अध्यक्ष सतिश न्यौपानेका अनुसार दिव्य ज्योतिले निर्माण गर्न लागेको आयोजना नदीमा प्रवाहित प्रकारको आयोजना हो । प्राधिकरणले भोटेवडारमा निर्माण गरेको ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी आयोजना भने अर्ध जलाशययुक्त आयोजना हो । मध्य मर्स्याङ्दी आयोजनामा जस्तो सम्पूर्ण पानी थुनेर आयोजना संचालन नगरिने उनले स्पष्ट पारेका छन्।

कम्पनीका अनुसार नदीमा वार्षिक औसत पानीको बहाब लगभग १५० घनमीटर छ। तर यो आयोजना निर्माण गर्न केवल ७० घनमिटर पानी मात्र आवश्यक पर्ने भएकोले बाँकी रहेको पानी पर्याप्त हुने र वातावरणीय असरमा हानी नहुने कम्पनीले जनाएको छ । कम्पनीले स्थानीयहरुलाई समेटी उनीहरुको सिप र दक्षताका आधारमा रोजगारीको सुनिश्चितता गरिने प्रतिवद्दता पनि जनाएको छ ।
आयोजनाको निर्माण कार्यबाट यस क्षेत्रमा रहेका मसानघाटदेखि लिएर अन्य प्रभाव पर्न जाने सम्पूर्ण क्षेत्रहरुलाई मध्यनजर गरि सो मा पर्न जाने प्रभावलाई आत्मसात लिई कार्य गरिने पनि कम्पनीले प्रष्ट पारेको छ । यो क्षेत्रको पर्यटकीय, संस्कृतिक, भौगोलिक एवं पुरातात्विक सम्पदामा कूनै प्रतिकूल असर नहुने गरि कार्य गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यस आयोजनाबाट विद्युत उत्पादन भएपश्चात कम्पनीको आम्दानीको २ प्रतिशत र प्रति मेगावाट १ लाखका दरले वार्षिक ५० लाख गरि जम्मा ३.५ करोड रुपैयाँ रोयल्टी बापत नेपाल सरकारलाई बुझाउनु पर्ने हुन्छ। सो रोयल्टी वापतको रकम आयोजना प्रभावित जिल्ला तथा नगरपालिकाको साथै वडा कार्यालयमा पनि आउने प्रावधान रहेकोले स्थानीय स्तरको विकासमा पनि टेवा पुग्न जाने कम्पनीले उल्लेख गरेको छ । आयोजनाको वातावरणीय असर मूल्याङकन प्रतिवेदनको प्रावधान अनुसार सामाजिक उत्तरदायित्वको कार्यको लागि सम्बन्धित निकायसँग छलफल तथा परामर्श गरि कार्य गरिने र यसले आयोजना प्रभावित क्षेत्रमा खानेपानी, मठमन्दिर, स्कूल तथा बाटोको मर्मत तथा अन्य आवश्यक पूर्वाधार विकासमा सहयोग पुग्ने कम्पनीले जनाएको छ।
यो कम्पनीबाट स्थानीयहरुलाई शेयर निष्काशन गरि नेपाल स्टक एक्सचेन्जमा सूचीकरण गरि स्थानीयलाई समेत लाभान्वित गराईने कम्पनीले प्रष्ट पारेको छ। अबको १० वर्ष भित्र नेपाल सरकारले देशमा २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहित कार्य गरिरहेको हुनाले यस आयोजनाले पनि नेपाल सरकारको उक्त लक्ष्यलाई पुरा गर्न सहयोग पुग्ने र आयोजना बन्दा स्थानीयले समेत गर्व गर्नसक्ने कम्पनीले जनाएको छ ।
स्थानीय र देशलाई नै बहुआयामिक लाभ तथा फाइदा हुने भएकोले कम्पनीले आयोजना निर्माणको लागि आवश्यक सहयोग, सुरक्षा एवं सहजिकरण गरिदिन समेत अनुरोध गरेको छ।
यो आयोजनाको निर्माण कार्य मङ्सिरबाट सुरु गरिएको कम्पनीको भनाइ छ । कम्पनीका अनुसार आयोजना निर्माणका लागि २०७५ भदौ १० मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता सम्पन्न भएको थियो भने उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयबाट २०६५ असोज ३० मा सर्वेक्षण अनुमति पत्र प्राप्त गरिएको थियो। साथै २०७४ असोज १ मा आयोजनाको वातावरणीय असर मूल्याङकन प्रतिवेदन वन तथा वातावरण मन्त्रालयवााट स्वीकृत भएको र आयोजनाको विद्युत उत्पादनको अनुमतिपत्र प्राप्त गरि कार्य अगाडि बढाएको कम्पनीले जनाएको छ।
आयोजना दिव्यज्योति हाईड्रोपावर लिमिटेडमार्फत निर्माण गरिने छ । यो आयोजना ३० महिनाको अवधिभित्र स्थानीय श्रोत, साधन तथा जनशक्तिको अधिकतम सदुपयोग गरी आयोजनाको निर्माण कार्य सम्पन्न गरिने छ।






















