काठमाडौं । नेपालमै पहिलोपटक अपाङ्गता भएकी महिलाले बन्जी जम्प गरेर साहस र आत्मविश्वासको उदाहरण प्रस्तुत गरेकी छन् । सिन्धुलीकी दीपा देवकोटाले सिन्धुपाल्चोकको द लास्ट रिसोर्टमा सफलतापूर्वक बन्जी जम्प गर्दै साहसिक खेलकुदमा अपाङ्गता बाधा होइन अवस्था मात्रै हो भन्ने सन्देश दिएकी छन् र मानिसको कुनैपनि अवस्थाले उसको जीवनमा बाधा ल्याउने छैन भनेर देखाईन् ।
स्पाईनल बाईफिडा शारीरिक अपाङ्गता हुँदाहुँदै पनि देवकोटाले बन्जी जम्प गरेर समाजमा व्याप्त नकारात्मक सोचलाई चुनौती दिएकी छन् । उनी एक सक्रिय अपाङ्गता अधिकारकर्मी समेत हुन् र अपाङ्गता भयका ब्यक्तिकोलाई विभिन्न सामाजिक कार्य गरि उदाहरण समेत बनेकी छन् । उनले अपाङ्गता भएका व्यक्तिहरू पनि समाज, समुदाय र राष्ट्रका हरेक गतिविधिमा समान रूपमा सहभागी हुन सक्षम छन् भन्ने सन्देश यस साहसिक कार्यमार्फत प्रवाह गरेकी छन् ।
देवकोटाले भनिन्, “अपाङ्गता कमजोरी होइन, आत्मबल र अवसर पाएमा हामी पनि सबै क्षेत्रमा अघि बढ्न सक्छौँ । मेरो यो प्रयासले अन्य अपाङ्गता भएका दिदीबहिनी तथा दाजुभाइहरूलाई आत्मविश्वासका साथ अघि बढ्न प्रेरणा दिने विश्वास लिएको छु ।”
देवकोटाको यो कदम अपाङ्गता भएका महिलाहरूको सशक्तीकरण र समावेशी समाज निर्माणतर्फको महत्वपूर्ण उपलब्धी हो भन्न पनि सकिन्छ ।
नेपालमा साहसिक पर्यटनको क्षेत्र तीव्र गतिमा विस्तार भइरहेको अवस्थामा, दीपा देवकोटाको यो साहसिक कदमले अपाङ्गता भएका व्यक्तिहरूका लागि साहसिक खेलकुद र पर्यटन क्षेत्र पनि पहुँचयोग्य हुनुपर्छ भन्ने मुद्दा लाई थप बल दिएको छ ।
आज उनले आफ्नो जन्मदिनको दिन यो साहसीक कार्य गरेकी हुन, उनी भन्छिन् मेरो जन्मदिने आमा बुबालाई यो समाजले अपाङ्गता सन्तान जन्माएको भन्दै सामाजिक र मानसिक रुपमा विभेद गरिरहँदा म चाहीँ मेरो आमा बुबालाई धन्यवाद दिन चाहन्छु किनकी यौटी सक्षम र साहसी छोरी जन्मादिनु भएकोमा र अपाङ्गताले मेरो जीवनको कुनैपनि अध्यायलाई रोक्ने छैन। त्यसैले मेरो जन्मदिने अभिभावक र मेरो जन्मदिन मेरा लागि खास छ।






















