काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को मंसिरसम्ममा लक्ष्यको ७८.७४ प्रतिशत राजश्व संकलन भएको छ । अर्थ मन्त्रालयले दिएको जानकारीअनुसार मंसिर २९ सम्ममा ४ खर्ब ९ अर्ब ७८ करोड राजश्व संकलन भएको छ । जबकि मंसिरसम्मको लक्ष्य ५ खर्ब २० अर्ब ४४ करोड रहेको थियो । सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ८० अर्ब राजश्व संकलन गर्ने लक्ष्य लिएको छ ।
सरकारले मंसिर महिनामा मात्रै ९५ अर्ब २० करोड राजश्व उठाउने लक्ष्य लिएको थियो । मंसिर महिनाको राजश्व सङ्कलन ८० अर्ब २७ करोडमा सिसित भएको छ । यो लक्ष्यको ८४.३१ प्रतिशत हो । मंसिर २९ गते एकैदिन ३ अर्ब ४४ करोड राजश्व संकलन भएको थियो ।
गत वर्ष वार्षिक लक्ष्य १४ खर्ब १९ अर्ब ३० करोड र मंसिरसम्मको लक्ष्य ४ खर्ब ९५ अर्ब २ करोड रहेको थियो । सो अवधिमा ४ खर्ब ५ अर्ब ७७ करोड राजश्व संकलन भएको थियो । गतवर्ष मंसिर महिनामा मात्रै ७६ अर्ब ७६ करोड राजश्व उठेको थियो ।






















