काठमाडाैं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले पुस ७ गतेदेखि सर्वसाधारणका लागि साधारण शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको आईपीओपछि अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले सार्वजनिक निष्काशनका लागि छुट्याइएको साधारण शेयरमा ५७ हजार ७९८ कित्ता साधारण शेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहेको ९ लाख २४ हजार ७६८ कित्ता शेयर निष्काशन गर्न लागेको हो । कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ अर्थात् लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले यस आईपीओका लागि आवेदन दिनु पर्नेछ ।
बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँड गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम भएको हो । लगानीकर्ताले न्यूनतम ५० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा पुस ११ गते हुनेछ । ढिलो भएमा अवधि पुस २१ गतेसम्म लम्बिनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्गद्वारा सञ्चालित सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आईपीओमा आवेदन दिन सक्नेछन् ।






















