धादिङ । दिनहुँ पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नतिको काम भइरहेको नागढुङ्गा मलेखु सडकखण्ड शुक्रबार र शनिबार बन्द नहुने भएको छ । नेकपा (एमाले)को ११औँ केन्द्रीय महाधिवेशन उद्घाटन सत्रलाई मध्यनजर गर्दै दुई दिन सडकमा आवतजावत बन्द नगरिने आयोजनाले जनाएको छ ।
नागढुङ्गा–मुग्लिन सडक आयोजनाले यही मङ्सिर २४ गतेबाट आंशिक बन्द गरेर काम गरिरहेको छ । दुई दिनपछि कार्यतालिकाअनुसार तोकिएको समयमा सडक बन्द गरेर काम गरिने नागढुङ्गा–मुग्लिन सडक योजना पूर्वी खण्डले जनाएको छ ।
मङ्सिर २४ गतेबाट पुस १ गतेसम्म बिहान १०ः३० देखि दिउँसो ३ः३० सम्म दैनिक पाँच घन्टा बन्द गरेर आयोजनाले काम गरिरहेको थियो । आयोजनाले सडक कालोपत्रेदेखि सडक चौडा गर्ने काम गरिरहेको छ ।






















