Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

तीन महिनामा करिब ४ खर्बको व्यापार घाटा, नेपालको चीनतर्फको निर्यात ६६ प्रतिशतले घट्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा करिब ४ खर्बको व्यापार घाटा भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो तीन महिनाको तथ्याँकअनुसार कुल वस्तु व्यापार घाटा १२.२ प्रतिशतले वृद्धि भई रु.३ खर्ब ९५ अर्ब ३० करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटामा ४.० प्रतिशतले कमी आएको थियो ।

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १५.५ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ९.८ प्रतिशत रहेको थियो ।

चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा कुल वस्तु निर्यात ८९.६ प्रतिशतले बढेर रु.७२ अर्ब ७८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ६.१ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारत र अन्य मुलुकतर्फको निर्यात क्रमशः १३७.९ प्रतिशत र ३.८ प्रतिशतले वृद्धि भएको छ भने चीनतर्फको निर्यातमा ६६.१ प्रतिशतले कमी आएको छ । वस्तुगत आधारमा भटमासको तेल, पाम तेल, जुटका सामान, अलैंची, पोलिष्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैंचा, पिनालगायतका वस्तुको निर्यात घटेको छ ।

त्यस्तै यो तीन महिनामा कुल वस्तु आयात १९.८ प्रतिशतले बढेर रु.४ खर्ब ६८ अर्ब ८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा ४.२ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन र अन्य मुलुकबाट भएको आयात क्रमशः ७.५ प्रतिशत, ३३.४ प्रतिशत र ४६.५ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा भटमासको कच्चा तेल, रासायनिक मल, सुन, यातायातका उपकरण, सवारी साधन तथा स्पेयर पार्टस्, दूरसञ्चारका उपकरणलगायतका वस्तुको आयात बढेको छ भने हट रोल्ड शिट इन क्वाइल, खाने तेल, लसुन, तेलहन, पेट्रोलियम पदार्थलगायतका वस्तुको आयात घटेको राष्ट्र बैंकले जनाएको छ ।

Health Tips Ad Road Block