काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले मंसिर ७ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो । त्यसमध्ये १ अर्ब रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो । त्यसमा आयोजना अति प्रभावित क्षेत्र सोलु दूधकुण्ड नगरपालिकाको वडा नं. ७, ११ र थुलुङ दूधकोशी गाउँपालिकाको वडा नं. १ को बासिन्दाहरुका लागि ४० प्रतिशत अर्थात् ४० लाख कित्ता तथा सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोशी गाउँपालिकाको अति प्रभावित वडा बाहेक अन्य वडामा बस्ने बासिन्दाका लागि ६० प्रतिशत अर्थात ६० लाख कित्ता शेयर दिइनेछ ।
यसका साथै सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको शेयरको १० प्रतिशतले हुन आउने १० करोड रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिनेछ । यस आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्काशन बन्द छिटोमा मंसिर २१ गते हुनेछ भने ढिलोमा पुस ७ गते हुनेछ । त्यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन बन्द छिटोमा मंसिर १० गते हुनेछ भने ढिलोमा मंसिर २१ गते हुनेछ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । स्थानीयले ग्लोबल आइएमई बैंकको सल्लेरी, सोलुखुम्बु शाखा, लक्ष्मी सनराइज बैंकको नेले, सोलुखुम्बु शाखा र आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट आईपीओमा आवेदन दिन सक्नेछन् । यता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आईपीओमा आवेदन दिन सक्नेछन्।




















