काठमाडौँ । नेपाल प्रहरीको ३३ औँ प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन् ।
सोमबारको मन्त्रीपरिषद् बैठकले कार्कीलाई महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको हो ।
सरकारको निर्णय कार्तिक २७ गतेदेखि लागु हुने छ । महानिरीक्षकको पहिलो दाबेदारका रूपमा रहेका कार्की २०५४ चैत १८ गते प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
वर्तमान महानिरीक्षक चन्द्रकुवेर खापुङ प्रहरी नियमावलीमा रहेको ३० बर्से सेवा अवधिका कारण कार्तिक २६ गते राति १२ बजेबाट अनिवार्य अवकाशमा जाँदैछन् ।
अब नवनियुक्त महानिरीक्षक कार्कीले २७ गतेबाट औपचारिक रूपमा प्रहरीको नेतृत्व सम्हाल्नेछन् । कार्कीले विद्यमान ३० बर्से सेवा अवधिको प्राबधानअनुसार करिब साढे दुई वर्ष प्रहरी संगठनको नेतृत्व सम्हाल्नेछन् ।






















