Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबीच एकताको लागि प्रचण्डले फेरि गरे आह्वान

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । नेकपा (माओवादी केन्द्र) महाधिवेशन आयोजक समिति संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्र गम्भीर संकटमा परेको भन्दै अहिलेको समय “साम्राज्यवाद र समाजवादी क्रान्तिबीचको टक्करको चरण” भएको बताएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा आयोजित शहीद प्रतिष्ठान नेपालको साधारण सभालाई सम्बोधन गर्दै उनले शान्ति प्रक्रियाका बाँकी काम टुंग्याउने जिम्मेवारी अझै अधुरो रहेको उल्लेख गर्दै त्यसका लागि सरकारमा हुँदा प्रयास र बाहिर हुँदा राज्यलाई निरन्तर सचेत गराउँदै आएको बताए । समाजवादी क्रान्ति नजिक, निराश हुनुपर्ने कारण नभएको बताउँदै उनले नेपालको वर्तमान परिस्थितिलाई “समाजवादी क्रान्तिको प्रारम्भिक संकेत”का रूपमा व्याख्या गरे र भने “२३ र २४ का घटनाक्रमले देखाएको छ—क्रान्ति अब टाढा छैन, बरु नजिक आएको छ। जनताको असन्तुष्टि र आक्रोश सही ढंगले संगठित गर्न सके समाजवादी क्रान्ति छोटो समयमै सम्भव छ।”

सम्बोधनको प्रारम्भमा प्रचण्डले शहीद परिवार र बेपत्ता योद्धाका आफन्तहरूको भावनालाई सम्मान गर्दै भने,“हरेक नेतृत्वले आश्वासन दिन्छ, तर परिणाम ढिलो हुँदा शहीद परिवारमा आक्रोश आउनु स्वाभाविक हो। म त्यो आवेगलाई जिम्मेवारीको बोधका रूपमा लिन्छु।”

उनले आफूले प्रधानमन्त्री हुँदा वा विपक्षमा हुँदा पनि शान्ति प्रक्रियाका बाँकी कार्य पूरा गर्न निरन्तर प्रयास गरिएको उल्लेख गरे । “हाम्रो निरन्तरको प्रयासमा शहीद घोषणा, विधेयक निर्माण र आयोग गठन भएका छन्। तर ती आयोगहरूले अपेक्षित परिणाम दिन सकेका छैनन्,” उनले भने ।

प्रचण्डले जनयुद्ध र जनआन्दोलनको क्रममा माओवादीले राखेका विचार र सन्दर्भ स्मरण गर्दै भने, “हामीले त्यतिबेलै भनेका थियौं—नेपाल गणतन्त्रमा जानेछ, तर त्यो जनताको गणतन्त्र हुनेछ वा प्रतिक्रियावादीहरूको भन्ने निर्णय पछि हुने टक्करबाट मात्र हुनेछ।”उनका अनुसार अहिले देश त्यही ऐतिहासिक मोडमा पुनः पुगेको छ।“हामी फेरि त्यस्तै टकरावको स्थितिमा छौं—क्रान्ति र प्रतिक्रान्ति आमनेसामने छन्,” उनले भने ।

प्रचण्डले वर्तमान अवस्थालाई ‘राष्ट्रको स्वाधीनता, भौगोलिक अखण्डता र सार्वभौमसत्ता’ माथिको गम्भीर चुनौतीको रूपमा चित्रण गरे । “हामी अहिले साम्राज्यवादसँग सीधै आमनेसामने छौं। अब प्रश्न छ—समाजवादी क्रान्तिले साम्राज्यवादलाई रोक्ने हो कि साम्राज्यवादले नै हाम्रो स्वाधीनता निल्ने हो,” उनले भने ।

उनले देशभक्त, वामपन्थी र क्रान्तिकारी सबै शक्तिलाई राष्ट्रिय स्वाधीनता र समाजवादी क्रान्तिको रक्षाका लागि एउटै मोर्चामा उभिन आह्वान समेत गरे । गणतन्त्र ल्याउने शक्तिहरू क्रान्तिकारी मात्रै नभएर पुजीवादी शक्तिहरुको समेत साथ र सहयोगबाट सम्भव भएको बताए । इतिहासको समिक्षा गदै उनले भने,“संघीय लोकतान्त्रिक गणतन्त्र ल्याउन हामीले सामन्ती निरंकुश तन्त्रविरुद्ध विभिन्न शक्तिसँग सम्झौता गरेका थियौं। ती शक्तिहरू सबै क्रान्तिकारी थिएनन्। कतिपय दलाल र पुँजीवादी शक्तिहरूसँग पनि अस्थायी सम्झौता भएको थियो। त्यो गल्ती होइन, त्यस समयको वर्ग संघर्षको आवश्यक परिणाम थियो।”

तर, उनले जोड दिए—त्यही सम्झौताबाट आएका गणतन्त्रपछिका नेतृत्वहरूले जनताको अपेक्षाअनुसार काम गर्न नसक्दा जनआक्रोश बढेको बताए । प्रचण्डले हालका आन्दोलनहरूमा सहभागी युवा पुस्ताको प्रशंसा गरे र भने,“भ्रष्टाचारविरुद्ध सडकमा निस्केका युवाहरूले राजनीतिबाट टाढा भनिएका पुस्तालाई पुनः राजनीतिक रूपमा सचेत बनाएका छन्। उनीहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी, भ्रष्टाचारविरोधी अभियान र अभिव्यक्ति स्वतन्त्रताको मुद्दा उठाएका छन्। यी युवाहरू नै क्रान्तिकारीका उत्तराधिकारी हुन्।”

एकता र समाजवादी क्रान्तिको तयारीकै माध्यमबाट संकट पार गर्न सकिने उनको भनाई थियो । प्रचण्डले सबै वामपन्थी, देशभक्त र क्रान्तिकारी शक्तिहरूबीच वृहद् एकताको आवश्यकता औंल्याउँदै भने,“अब प्रतिक्रान्तिको भयानक खतरा देखिँदै छ। त्यसलाई परास्त गर्न जनताको तागत र एकता अपरिहार्य छ। क्रान्ति कहिल्यै सहज हुँदैन—प्रतिक्रान्तिको सामना गर्दै अघि बढ्नु नै यसको नियम हो।”

उनले शहीद प्रतिष्ठान नेपाल लाई शहीद, बेपत्ता र घाइते योद्धाहरूका परिवारहरूलाई अझ व्यापक रूपमा संगठित गर्न र शान्ति प्रक्रियाका बाँकी कामहरूको खोजीमा सक्रिय हुन निर्देशन समेत दिए । संयोजक प्रचण्डले भने, “म विश्वास गर्छु—यो साधारण सभाले फेरि जनताको तागतलाई केन्द्रित गर्नेछ, सबै कम्युनिस्ट र देशभक्त शक्तिहरूलाई एकताबद्ध गर्नेछ। म संरक्षकको हैसियतले यो अभियानमा सहयोग गर्नेछु।”

Health Tips Ad Road Block