काठमाडौं । नेपाल टेलिकमले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत देशभर सञ्चालनमा रहेका अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रु लक्षित फ्रि वाईफाई इन्टरनेट सेवा संघालनमा ल्याएको छ । यसअनुरुप कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फ्रि वाईफाई सेवा शुभारम्भ गरेको छ ।
नेपाल टेलिकमको तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक सविना मास्के र विमानस्थलका महाप्रबन्धक हंशराज पाण्डेले प्रथम चरणमा विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनल भवनमा वाईफाई इन्टरनेट सेवाको शुभारम्भ गरेका हुन् । उक्त फ्रि वाईफाई इन्टरनेट सेवाको कभरेज विमानस्थलको आगमन, प्रस्थान,भिआईपी लाउञ्ज तथा प्रतिक्षास्थल लगायतका क्षेत्रहरुमा रहेको छ ।
देशभर सञ्चालनमा रहेका ३ वटा अन्तर्राष्ट्रिय विमानस्थल तथा ३४ वटा आन्तरिक विमानस्थलहरुमा सर्वसाधारण यात्रुलक्षित फ्रि इन्टरनेट सेवा सञ्चालन गर्न नेपाल टेलिकम र नेपाल नागरिक उड्डयन प्राधिकरणबिच भएको सम्झौताबमोजिम सो कार्यक्रमको शुभारम्भ गरिएको टेलिकमले जनाएको छ ।
सेवाको कभरेज रहेको स्थानमा SSID “NT-CAAN Free WiFi” भएको वाईफाईमा कनेक्ट गरेर निर्देशन पूरा गरी निस्शुल्क इन्टरनेट सेवा प्रयोग गर्न सकिने टेलिकमका प्रवक्त रबिन्द्र मानन्धरले स्पष्ट पारेका छन् ।,





















