ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

हायात रिजेन्सी होटल तत्काल सञ्चालनमा ल्याउन माग गर्दै होटलका श्रमिकहरु आन्दोलित, होटल परिसरमा दैनिक धर्ना

यस्तो छ व्यवस्थापनको होटल सञ्चालनमा ल्याउनेबारेको स्पष्टोक्ति

काठमाडौं । पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ) का श्रमिकहरु आन्दोलित भएका छन् । होटल परिसरमा दैनिक धर्ना दिएर उनीहरु आन्दोलित भएका हुन् । होलमा रहेको तीनवटा ट्रेड यूनियन संगठनहरुले विभिन्न चार बुँदामा होटल व्यवस्थापनको ध्यानाकर्षण गराउँदै आन्दोलन थालेका हुन् । होटलमा कार्यरत नेस्वहोमयू, ने.प.हो. क्या. तथा रे.म.संघ, अ.ने.हो.क्या.तथा रे.म.संघले विज्ञप्ति जारी गर्दै होटल तत्काल सञ्चालनमा ल्याउन र श्रमिकको रोजगारी सुरक्षित गर्न माग गरेका छन् । उनीहरुले होटलमा सामान्य क्षति हुँदा होटल व्यवस्थापनले नेपालको अन्तर्राष्ट्रिय छवि धमिल पार्ने, लगानी सुरक्षामाथि प्रश्न उठाउने, वैदेशिक तथा बहुराष्ट्रिय लगानीकर्ताको विश्वास कमजोर पार्ने, श्रमिकहरूलाई बेरोजगार बनाउने र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने कार्य गरेको आरोपसमेत लगाएका छन् । श्रमिकहरुले आफूहरुसँग सल्लाह नै नगरी होटल बन्द गरेको विषयप्रति आपत्ति जनाएका छन् । उनीहरुले होटल हायात प्रशासनलाई तत्काल आफ्नो निर्णय फिर्ता लिई होटल सञ्चालनमा ल्याउन तथा सबै श्रमिकको रोजगारी सुरक्षित गर्न आग्रह गरेको छ । त्यसैगरी श्रमिक संगठनहरुले साथै नेपाल सरकार र सम्बन्धित निकायहरूलाई घटनाको निष्पक्ष छानबिन गरी क्षति पुर्याउने पक्षमाथि आवश्यक कारबाही गर्न माग गरेको छ ।

यस्तो छ तीन संगठनले जारी गरेको विज्ञप्तिः

१. मिति २०८२/०७/०२ गते त्यहाँ व्यवस्थापकबाट मिति २०८२ साल भाद्र २३ र २४ गतेका दिन भएको आन्दोलनको क्रममा यस होटेल समेतमा भएको तोडफोड र आगजनी क्रियाकलापले होटेल संरचनामा क्षति पुग्न गएको कारण होटेल तत्काल संचालन गर्न सकिने अवस्थामा नरहेकोले यसको मर्मत तथा पुनर्निर्माणको कार्य प्रारम्भ गर्नु पर्ने अपरिहार्य भएको छ। होटेलको मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशिलता समेतलाई मध्येनजर गर्दै होटेलबाट प्रवाह हुँदै आएको व्यवसायिक सेवा लगायत सम्पूर्ण होटल नै पूर्णरुपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशिल ट्रेड यूनियनसँग छलफल भइ प्रतिष्ठानमा कार्यरत सम्पूर्ण श्रमिकहरु अर्को सूचना प्रेषित नहुँदासम्म वा अन्य निर्णय नहुँदासम्म सम्पूर्ण श्रमिकलाई होटेल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ भनी सूचना जारी गरिएको रहेछ ।

२. सो सूचनामा प्रतिष्ठानमा क्रियाशिल ट्रेड यूनियनसँग छलफल भई सूचना जारी गरिएको भन्ने भ्रम हुने गरी सूचना जारी गरिएको भए पनि हायात रिजेन्सी होटलमा क्रियाशिल कुनै पनि ट्रेड यूनियनसँग होटल बन्द गर्ने सन्दर्भमा कुनै छलफल, सहमती तथा समर्थन नभएको कुरा यहाँलाई विदितै हुँदा हुँदै त्यहाँ होटलमा काम गर्ने सम्पूर्ण श्रमिक, आम जनमानस तथा संचार माध्यलाई समेत प्रतिष्ठानमा क्रियाशिल ट्रेड यूनियनसँग छलफल भई होटल बन्द गर्नको लागि सहमती तथा समर्थन गरे सरहको सूचना जारी भएको प्रति हाम्रो आपत्ति रहेको छ ।

३. होटल प्रशासनले क्षति र पुनर्निर्माणको कारण देखाई सम्पूर्ण श्रमिकलाई कार्यस्थलमा उपस्थित नहुन निर्देशन दिएको छ । जुन श्रमिक विरोधी, श्रम कानुन विपरीत, एकपक्षीय र नियोजित हुनुका साथै त्यहाँ प्रतिष्ठानमा काम गर्ने श्रमिकहरुको रोजगारी अन्त्य गर्ने जालझेलपुर्ण कदम हो। आन्दोलनका क्रममा भएको क्षति मर्मत संभार पश्चात होटल तुरुन्त सञ्चालन गर्न सकिने अवस्था रहेको स्पष्ट छ । अर्कोतर्फ हिल्टन होटलले पूर्णरूपमा क्षतिग्रस्त हुँदा समेत आफ्ना श्रमिकहरूलाई अन्य विदेशस्थित होटलहरूमा रोजगारी सिफ्ट गरेर सुरक्षित गरेको र भाटभटेनी सुपरमार्केटले समेत क्षतिग्रस्त शाखाहरूमा कार्यरत श्रमिकहरूलाई निष्काशन नगरी संरक्षण गरेको उदाहरणहरू सकारात्मक र श्रमिकमैत्री अभ्यास हुन् । तर हायात होटलमा सामान्य क्षति हुँदा समेत आन्दोलनको बहानामा अन्तर्राष्ट्रिय छवि बोकेको होटलबबाट उत्त्टो निर्णय आउनु दुःखद हो। यस प्रकारको कदमले नेपालको अन्तर्राष्ट्रिय छवि धमिल पार्ने, लगानी सुरक्षामाथि प्रश्न उठाउने, वैदेशिक तथा बहुराष्ट्रिय लगानीकर्ताको विश्वास कमजोर पार्ने, श्रमिकहरूलाई बेरोजगार बनाउने र राष्ट्रिय अर्थतन्त्रमा नकारात्मक प्रभाव पर्ने समेत देखिएको छ ।

४. हामी होटल हायात प्रशासनलाई तत्काल आफ्नो निर्णय फिर्ता लिई होटल सञ्चालनमा ल्याउन तथा सबै श्रमिकको रोजगारी सुरक्षित गर्न हार्दिक आग्रह गर्दछौं। साथै नेपाल सरकार र सम्बन्धित निकायहरूलाई घटनाको निष्पक्ष छानबिन गरी क्षति पुर्याउने पक्षमाथि आवश्यक कारबाही गर्न अनुरोध गर्दछौ।

होटलका श्रमिक संगठनहरुलाई उनीहरुका केन्द्रका श्रमिक संगठन र जेटियुसीसीले पनि समर्थन गरेको छ । हेर्नुस् यस्तो छ विज्ञप्ति

हायात व्यवस्थापनले भन्यो–जेनजी आन्दोलनपछि बन्द भएको होटल पुनर्निर्माणपछि सञ्चालनमा आउँछ

पाँच तारे होटल तारागाउँ रिजेन्सी होटल्स (हायात रिजेन्सी काठमाडौँ)ले जेनजी आन्दोलनका क्रममा होटलमा ठूलो क्षति भएको उल्लेख गर्दै पुनःनिर्माणपछि यथाशीघ्र सञ्चालनमा आउने बताएको छ । आइतबार होटलका कार्यकारी निर्देशक सुरेशलाल श्रेष्ठद्वारा जारी विज्ञप्तिमा होटलमा भएको क्षतिका सम्बन्धमा प्रधानमन्त्री सुशीला कार्की र अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारबाट आवश्यक साथ सहयोग प्रदान गरिने भनी दिनुभएको आश्वासनप्रति होटलले आभार व्यक्त गरेको छ ।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा होटलमा भएको क्षतिको मूल्यांकन भइरहेको र पुनःनिर्माणपछि पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने विज्ञप्तिमा उल्लेख गरेको हो ।

“आन्दोलनका क्रममा होटलमा भएको तोडफोड, लुटपाट तथा आगलागीजन्य क्रियाकलापबाट होटलका अतिथि कक्ष, कार्यकक्ष, रिसेप्सन, लबी, रेष्टुरेन्ट, बैंक्वेट, चैत्यसहित होटलको समष्टिगत संरचनामा ठूलो क्षति पुगेको छ, त्यसयता होटल पूर्ण रुपमा बन्द छ, होटलले भनेको छ, “हाल क्षतिको पूर्ण मूल्याङ्कनपछि होटल स्तरोन्नति र पुनर्निर्माण गरी अझ विस्तारित र उत्कृष्ट सेवासहित यथाशीघ्र पुनः सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं ।” स्तारोन्नति र पुनर्निर्माणका लागि कम्तीमा एक वर्ष लाग्ने होटलको भनाइ छ ।

होटलले आगामी दिनमा सरकारको राजश्व स्रोतमा वृद्धि गरी मुलुकको आर्थिक विकासमा थप योगदान पुर्याउने र नेपालको फ्ल्यागशिप होटलको अभिभारा बोक्दै पर्यटन क्षेत्रमा नेपालको मान–प्रतिष्ठा अझ उच्च बनाउने दृढ संकल्पसहित सञ्चालन हुने प्रतिबद्धता समेत जनाएको छ ।

“होटल पछिल्ला साढे दुई दशकमा नेपालमा भएका विभिन्न राजनीतिक तथा सामाजिक परिवर्तनको साक्षी रहँदै आएको छ। यस अवधिमा हामीले चरम सशस्त्र द्वन्द्व, शान्ति प्रक्रिया, संविधान निर्माण, भूकम्प तथा कोरोना महामारी जस्ता चुनौतीपूर्ण अवस्थाहरूको सामाना गर्दै वर्षौदेखि हजारौं व्यक्तिलाई रोजगारी दिँदै मुलुकको पर्यटन र अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याउदैँ आएका छौं”, होटलले भनेको छ ।

होटल पर्यटनमार्फत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याएको उल्लेख गर्दै पटक पटक सरकारबाट सम्मानित भइसकेको जनाएको छ । होटल हालसम्म पर्यटन क्षेत्रमा सबैभन्दा बढी आयकर तिर्ने करदाताको रुपमा सात पटक र पर्यटन क्षेत्रमा सबैभन्दा धेरै विदेशी मुद्रा सङ्कलन गर्ने होटलका रुपमा दुई पटक सम्मानित भइसकेको व्यवस्थापनले बताएको छ ।

Health Tips Ad Road Block