काठमाडौं । जल तथा मौसम विज्ञान विभागले सोमबार रातिदेखि देशका विभिन्न स्थानमा भारी वर्षा र भारी हिमपातको सम्भावना रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।
विभागले एक सूचना जारी गर्दै भनेको छ, ‘मिति २०८२–०७–१० गते रातिदेखि मिति २०८२–०७–१२ गते बिहानसम्म गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपात तथा वर्षाको सम्भावना रहेको छ । साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको पनि सम्भावना रहेको छ ।’
विभागका अनुसार वर्षा र हिमपात हुने मुख्य स्थानहरुः
दोलखा, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, लमजुङ, हुम्ला, जुम्ला, मुगु, कालीकोट, दैलेख, जाजरकोट, सल्यान, रुकुम (पूर्व), रुकुम (पश्चिम), बागलुङ, सुर्खेत, बाँके, बर्दिया र आसपासका जिल्लाका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना रहेको छ ।
विभागका अनुसार सतर्क रहनुपर्ने स्थानहरुः
गोरखा, मनाङ, मुस्ताङ, डोल्पा, म्याग्दी, कास्की, पर्वत र आसपासका जिल्लाका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा, हिमाली भू–भागमा हिमपात तथा वर्षाको सम्भावना रहेकाले यी स्थानमा सतर्क रहनुपर्नेछ ।





















