काठमाडौं । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा आयात निर्यातसँगै नेपालको व्यापार घाटा पनि बढेको छ । भन्सार विभागले सार्वजनिक गरेको असोजसम्मको तथ्यांकअनुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४ खर्ब ६८ अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा यो अवधीमा आयात १९.७९ प्रतिशतले बढेको हो । गत आवको तीन महिनामा ३ खर्ब ९० अर्ब रुपैयाँ बराबरको वस्तु आयात भएको थियो ।
यसैगरी चालु आर्थिक वर्षको पहिलो त्रैमासमा निर्यातको अंश ८९.६४ प्रतिशतले बढेको छ । भन्सार विभागकाअनुसार चालु आवको पहिलो तीन महिनामा ७२ अर्ब ७८ करोड रुपैयाँको वस्तु निर्यात भएको छ । अघिल्लो भएको यही अवधिमा ३८ अर्ब ३७ करोड रुपैँया बराबरको निर्यात भएको थियो ।
यो तीन महिनामा नेपालले कुल ५ खर्ब ४० अर्ब ८६ करोड ६१ लाख रुपैयाँको वैदेशिक व्यापार गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँको वैदेशिक व्यापार भएको थियो । यो तीन महिनामा व्यापार घाटा १२.१८ प्रतिशतले बढेको छ । साउनदेखि असोजसम्ममा ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँको ब्यापार घाटा देखिएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा मुलुकको व्यापार घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको थियो ।
यो अवधिमा ६६ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ र ३० अर्बभन्दा बढीको सोयाविन तेल निर्यात भएको देखिन्छ ।





















