Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

छठ पर्वको दोस्रो दिन आज खरना विधि गरी मनाइँदै, तराईदेखि हिमालसम्मै लोकप्रिय बन्दै छठ

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठको दोस्रो दिन आज खरना विधि गरी मनाइँदैछ । छठको खरनालाई पापको क्षय हुने दिन भनेर समेत भनिन्छ । खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतालु दिनभर उपवास बस्ने गर्दछन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटाको नयाँ चुल्हामा र माटाकै नयाँ भाँडामा सख्खर, दूध र गम्हरी चामल (मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल)को खीर पकाइन्छ । राति त्यहि खिर कूल देवता र छठी देवीलाई चढाइ व्रतालुले खाने गर्दछन् । श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ पछि व्रतालुहरू अझ गम्भीर भई पर्वको तेस्रो दिनको तयारीमा लाग्ने गर्दछन् ।

पर्वको तेस्रो दिन भोलि अर्थात् कार्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख व्रतालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ दिइने छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दूले पनि बाक्लै मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत व्रतालुलाई अघ्र्यका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन् । यसले छठ पर्वलाई साझा बनाएको बताइन्छ ।

अहिले देशव्यापीरुपमा तराई मधेशवासी र हिमालसम्म पूर्णरुपमा छठपर्वको तयारी भइरहेको छ । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा मानिसहरुको घुइँचो लागेको छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अघ्र्य दिन पोखरी, सरोवर, नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाटलाई श्रृङ्गारिने काम भइरहेको छ ।

शनिबारदेखि सुरु भएको यो पर्व मुख्य गरी चार दिन मनाइन्छ । शनिबार ‘नहा खा’ (नुहाएर खाने) विधि पूरा गरी सुरु भएको यो पर्व यस वर्ष कार्तिक १० गते सोमबार (षष्ठी) का दिन साँझ अस्ताउँदो सूर्यलाई र मंगलबार (सप्तमी) का दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न हुनेछ । सरकारले यस पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिँदै हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । केही वर्षअघिसम्म तराईका जिल्लामा मात्र सीमित यो पर्व अहिले संघीय राजधानी काठमाडौँलगायत मुलुकका प्रमुख शहरमा समेत राष्ट्रिय पर्वका रूपमा धुमधामसाथ मनाउने गरिन्छ । पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा समेत छठ पर्व लोकप्रिय बन्दै गएको छ ।

Health Tips Ad Road Block