ev scooty luyuan nepal baishak 2082 15

skip this News Page Tips Ad Road Block

छठ पर्वको दोस्रो दिन आज खरना विधि गरी मनाइँदै, तराईदेखि हिमालसम्मै लोकप्रिय बन्दै छठ

काठमाडौं । आराध्यदेव सूर्यको उपासना गरी मनाइने छठको दोस्रो दिन आज खरना विधि गरी मनाइँदैछ । छठको खरनालाई पापको क्षय हुने दिन भनेर समेत भनिन्छ । खरनाअन्तर्गत गाईको गोबरले लिपपोत गरी चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी व्रतालु दिनभर उपवास बस्ने गर्दछन् । बेलुकीपख चन्द्र दर्शन गरिसकेपछि माटाको नयाँ चुल्हामा र माटाकै नयाँ भाँडामा सख्खर, दूध र गम्हरी चामल (मङ्सिरमा पाक्ने स्थानीय जातको धानको चामल)को खीर पकाइन्छ । राति त्यहि खिर कूल देवता र छठी देवीलाई चढाइ व्रतालुले खाने गर्दछन् । श्रद्धा, निष्ठा, समर्पणभाव र आत्मशुद्धिलाई निकै ख्याल गरिने छठ पर्वको ‘खरना’ पछि व्रतालुहरू अझ गम्भीर भई पर्वको तेस्रो दिनको तयारीमा लाग्ने गर्दछन् ।

पर्वको तेस्रो दिन भोलि अर्थात् कार्तिक शुक्ल षष्ठी तिथिमा सूर्य उपासनाको निराहार व्रत बसेर साँझपख व्रतालुले जलाशयमा बनेको मनोरम घाटमा पुगेर कम्मरसम्म डुब्ने पानीमा चोबलिएर अस्ताउँदा सूर्यलाई पहिलो अर्घ दिइने छ ।

केही वर्ष पहिलेसम्म मधेशी मूलका हिन्दूले मात्र मनाउँदै आएका यो पर्व अब पर्वते मूलका हिन्दूले पनि बाक्लै मनाउन थालेका छन् । मिथिलामा इस्लाम धर्मावलम्बीले समेत व्रतालुलाई अघ्र्यका बेला आफ्नो भाकल सूर्यदेवलाई देखाइदिन दिने गरेका छन् । यसले छठ पर्वलाई साझा बनाएको बताइन्छ ।

अहिले देशव्यापीरुपमा तराई मधेशवासी र हिमालसम्म पूर्णरुपमा छठपर्वको तयारी भइरहेको छ । छठपर्वको पूजा सामग्री जोरजाम किनमेल गर्न यतिबेला बजारमा मानिसहरुको घुइँचो लागेको छ । त्यस्तै आदिदेव सूर्य भगवानलाई अघ्र्य दिन पोखरी, सरोवर, नदी, तलाउ, पोखरी, इनार लगायतको जलाशयको किनारमा घाटलाई श्रृङ्गारिने काम भइरहेको छ ।

शनिबारदेखि सुरु भएको यो पर्व मुख्य गरी चार दिन मनाइन्छ । शनिबार ‘नहा खा’ (नुहाएर खाने) विधि पूरा गरी सुरु भएको यो पर्व यस वर्ष कार्तिक १० गते सोमबार (षष्ठी) का दिन साँझ अस्ताउँदो सूर्यलाई र मंगलबार (सप्तमी) का दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर सम्पन्न हुनेछ । सरकारले यस पर्वलाई राष्ट्रिय पर्वको मान्यता दिँदै हरेक वर्ष सार्वजनिक बिदा दिँदै आएको छ । केही वर्षअघिसम्म तराईका जिल्लामा मात्र सीमित यो पर्व अहिले संघीय राजधानी काठमाडौँलगायत मुलुकका प्रमुख शहरमा समेत राष्ट्रिय पर्वका रूपमा धुमधामसाथ मनाउने गरिन्छ । पछिल्लो समय पहाडी र हिमाली क्षेत्रमा समेत छठ पर्व लोकप्रिय बन्दै गएको छ ।

Health Tips Ad Road Block