Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

बैंक वित्तीय क्षेत्रबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । बैंक वित्तीय क्षेत्रहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा बढेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ सम्मको तथ्याँकले यो विषय उल्लेख गरेको हो ।

राष्ट्र बैंकले सार्वजनिक गरिएको तथ्याँकमा भनिएको छ, ‘समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा रु.४९ अर्ब २४ करोड (०.९ प्रतिशत) ले बढी कुल कर्जा रु.५५४६ अर्ब ९४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा रु.७३ अर्ब ३९ करोड (१.४ प्रतिशत) ले बढेको थियो ।’

केन्द्रीय बैंकका अनुसार वार्षिक विन्दुगत आधारमा २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ७.८ प्रतिशतले बढेको छ । २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैर–वित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६२.८ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३७.२ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह १.० प्रतिशत र वित्त कम्पनीहरूको ०.८ प्रतिशतले बढेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ०.१ प्रतिशतले घटेको छ । २०८२ भदौ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को सुरक्षणमा १५.१ प्रतिशत रहेको छ भने घरजग्गा धितो सुरक्षणमा ६४.३ प्रतिशत रहेको छ । राष्ट्र बैंकका अनुसार २०८१ भदौ मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अंश क्रमशः १३.२ प्रतिशत र ६६.२ प्रतिशत रहेको थियो ।

आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा बैंक तथा वित्तीय संस्थाहरूको लगानीमा रहेको कर्जामध्ये निर्माण क्षेत्रतर्फको कर्जा २.६ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १.९ प्रतिशत, उपभोग्य क्षेत्रतर्फको कर्जा १.१ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १.० प्रतिशत र थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १.० प्रतिशतले बढेको छ भने सेवा उद्योग क्षेत्रतर्फको कर्जा ०.३ प्रतिशतले घटेको केन्द्रीय बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरूबाट प्रवाहित कर्जामध्ये ट्रष्ट रिसिट (आयात) कर्जा ६.७ प्रतिशत, मार्जिन प्रकृतिको कर्जा ३.५ प्रतिशत, क्यास क्रेडिट कर्जा १.७ प्रतिशत, आवधिक कर्जा १.१ प्रतिशत, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जासमेत) ०.८ प्रतिशत र हायर पर्चेज कर्जा ०.५ प्रतिशतले बढेको छ भने अधिविकर्ष कर्जा ३.६ प्रतिशतले घटेको छ ।

Health Tips Ad Road Block