skip this News Page Tips Ad Road Block

जेनजीको नाम लिँदै विभिन्न कार्यालय पुगेर कानुनविपरित क्रियाकलाप गर्नेहरुमाथि प्रहरीले बढायो निगरानी

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौं । जेनजी नाम लिँदै पछिल्लो समय विभिन्न कार्यालय, व्यवसायिक संघसंस्था र विभिन्न निकायमा पुगेर कानुन विपरित क्रियाकलाप र काम गर्नेहरुमाथि प्रहरीले निगरानी बढाएको छ ।

जेनजीका केही अगुवा भन्दै विभिन्न कार्यालय पुगेर अनुगमन गर्ने तथा ज्ञापनपत्र बुझाउने नाममा दैनिक जसो विभिन्न सरकारी कार्यालयमा पुग्ने र ध्यानाकर्षणपत्र भन्दै कर्मचारीमाथि अमर्यादित गतिविधि गर्ने क्रम बढेपछि त्यस्ता व्यक्तिमाथि प्रहरीले आवश्यक कारबाहीका लागि निगरानी बढाएको जनाएको हो ।

काठमाडौं प्रहरीका एक अधिकारीका अनुसार विभिन्न सरकारी कार्यालय पुगेर अमर्यादित क्रियाकलाप गर्ने र कानुनविपरीतका कार्य गर्नेमाथि आवश्यक कानुनी कारबाही भइरहेको छ । खानेपानी संस्थान, तीनकुने चोक, जेनजी आन्दोलनका क्रममा तिब्बत ओरिजिनल ब्लड (टिओबी) का नाममा शङ्कास्पद गतिविधि गर्नै टिओबी समूहका तेन्जेन दावा, त्यसैगरी ज्ञापनपत्र बुझाउने नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गाल, नेपाल वायुसेवा निगम न्युरोड र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरनमा पुगेर अमर्यादित गतिविधि गर्नेहरुलाई प्रहरीले आवश्यक कारबाही अघि बढाउने तयारी गरेको जनाएको छ ।

जेनजी अगुवा बताउने अर्जुनबहादुर शाही नेतृत्वको टोलीले ज्ञापनपत्र बुझाउने र अनुगमन गर्ने भनी ती कार्यालयमा पुगेर नेतृत्व तथा कर्मचारीलाई तत्काल राजीनामा गराउन दबाब दिँदै अमर्यादित गतिविधि गरेका भिडियो सामाजिक सञ्जालमार्फत बाहिरिएपछि त्यस्ता गतिविधिको तीव्र आलोचना भइरहेको छ ।

Health Tips Ad Road Block