काठमाडौं । काठमाडौं जिल्लाका सबै प्रकारका कार्यालय आजबाट खुल्ने भएका छन् । मौसममा सुधार आएकाले सरकारले दिएको बिदामा एक दिन कटौती गर्दै सबै प्रकारका कार्यालय सञ्चालनका लागि निर्देशन दिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गरी काठमाडौं जिल्लाका कार्यालयहरू खोल्न र सेवा सुचारु राख्न भनेको हो ।
सूचनामा भनिएको छ, ‘‘विगत २ (दुई) दिन देखि लगातारको भारी वर्षाका कारण राजधानी प्रवेश गर्ने मार्गहरु अवरुद्ध भएको अवस्था एवं तत्काल उद्धार एवं राहतमा जुट्नु पर्ने स्थितिका कारण मिति २०८२/०६/१९ र २० गते २ (दुई) दिन सार्वजनिक विदा भनिएकोमा हाल मौसममा सुधार भएको र जोखिमको अवस्था टरीसकेको हुँदा मिति २०८२/०६/२० गते सोमबारका दिन बिहान १० बजे देखि कार्यालय समय सम्म काठमाडौं जिल्लाका सबै प्रकारका सरकारी कार्यालयहरु, संस्थानहरू र स्थानीय तहहरुबाट सेवा प्रवाह हुने गरी कार्यालय खुला राख एवं तदनुरुप कर्मचारीहरुको उपस्थितिको व्यवस्था मिलाउनु हुन अनुरोध छ ।’’

यसैगरी ललितपुर जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी भरतकुमार वलीले पनि सूचना जारी गर्दै ललितपुर जिल्लाका सबै प्रकारका कार्यालय खुल्ने र सेवा सुरु गर्ने सूचना जारी भएको जानकारी दिएका छन्।























