Ncell 2083 baishak-upto mangsir2082)

skip this News Page Tips Ad Road Block

लुटपाट भएका सामान ओसार–पसार नगर्न निर्देशन

Citizenlife ad 2082 falgun to baishak 2083

काठमाडौँ । नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालै भएको आन्दोलनका क्रममा लुटपाट र चोरी भएका सामान ढुवानी नगर्न आफ्ना सदस्य व्यवसायीलाई निर्देशन दिएको छ।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँले सोमबार जारी गरिएको सूचनामा भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभिन्न कार्यालय र पसलमा भएको आगजनी, तोडफोड र लुटपाटका क्रममा चोरी भएका हतियार तथा अन्य सामग्री ढुवानी साधनमार्फत ओसार–पसार हुन सक्ने आशंका रहेको जनाएका छन्।

यसरी लुटपाटमा परेका सामानहरूको अवैध ओसार–पसार भएमा कानूनी समस्या निम्तिन सक्ने भन्दै महासंघले सबै सदस्य संस्थालाई सचेत रहन र व्यवसायीलाई त्यस्ता सामान नओसार्न आग्रह गरेको छ ।

आन्दोलनपछि नष्ट भएका कागजातले ट्रक व्यवसायी संकटमा, सहजीकरण गर्न आग्रह

यसैबीच नेपाल ट्रक यातायात व्यवसायी महासंघले हालैको आन्दोलनका क्रममा व्यवसायीहरू थप समस्यामा परेको भन्दै सम्बन्धित निकायसँग तात्कालिक सहजीकरण गर्न माग गरेको छ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको पहलमा बसेको उच्चस्तरीय यातायात व्यवस्थापन समितिको बैठकमा महासंघले आफ्ना माग प्रस्तुत गरेको हो।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँका अनुसार आन्दोलनका क्रममा मुलुकभरका विभिन्न प्रहरी कार्यालय, सरकारी निकाय र यातायातसम्बन्धी संरचनामा आगजनी हुँदा ठूलो क्षति भएको छ।

ट्राफिक प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएका सवारीसाधनका बिलबुक, रोड परमिट र जाँचपासलगायतका कागजात जलेर नष्ट भएको र त्यसले व्यवसायी थप समस्यामा परेको बताउँदै कागजात नष्ट भएर पीडित बनेका व्यवसायीलाई तुरुन्तै वैकल्पिक व्यवस्था मिलाउन पनि महासंघले माग गरेकाे छ ।

यता प्रदर्शनकै क्रममा यातायात व्यवस्था विभागकै संरचना, इलेक्ट्रोनिक उपकरण, छपाइ मेसिन र सर्भरमा क्षति पुग्दा सूचना प्रविधिसम्बन्धी प्रणाली ठप्प बनेको विभागले जनाएको छ। यसले गर्दा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण र विद्युतीय सवारी दर्ता सेवा अवरुद्ध भएको विभागले स्पष्ट गरेको छ।

व्यवसायीलाई अनावश्यक दुःखकष्ट नदिन सातै प्रदेशका यातायात व्यवस्था कार्यालय र ट्राफिक प्रहरीलाई आवश्यक सहजीकरण गर्न महासंघले जोड दिएको छ।

दसैँ नजिकिँदै गर्दा मालवाहक ट्रक सञ्चालनमा कुनै अवरोध नहोस् भनेर आवश्यक कदम चाल्न मन्त्रालयलाई आग्रह गरिएको महासंघका महासचिव बानियाँले जानकारी दिए।

Health Tips Ad Road Block