काठमाडौं । भारतमा बढेर आएपनि नेपालमा भने पेट्रोलियम पदार्थको मूल्य बढाइएको छैन । नेपाल आयल निगमले चाडपर्वको अवस्थालाई मध्यनजर गर्दै मूल्य हाललाई यथावत राखिएको जनाएको छ ।
निगमले दिएको सूचनाअनुसार इण्डियन आयल कर्पोरेशनवाट भदौ ३० मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रतिलिटर पेट्रोलमा रु. २.२९ तथा डिजेलमा रु. ३.४६ ले बढेर आएको छ। आसन्न चाडपर्वको अवसर एवम् मुलुकको हालको विशेष परिस्थितिमा पेट्रोलियम पदार्थ तथा ग्याँसको मूल्यमा वृद्धि गर्दा आम उपभोक्ता वर्गमा पर्न जाने मूल्य वृद्धिको चापलाई कम गर्न र मूल्य स्थिरता कायम गरी मुलुकभर पेट्रोलियम पदार्थको सहज आपूर्ति गर्न साविकको खुद्रा बिक्री मूल्यलाई नै यथावत कायम गरिएको निगमले स्पष्ट पारेको छ ।






















