काठमाडौं । आगामी फागुन २१ गते बिहीबार प्रतिनिधि सभाका निर्वाचन गर्नेगरी राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मिति तोकेका छन् । शुक्रबार पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि राष्ट्रपति पौडेलले नयाँ निर्वाचनको मिति तोकेका हुन् । नवनिर्वाचित प्रधानमन्त्री कार्कीले सपथ ग्रहण लगतै हालको प्रतिनिधि सभा विघटनका लागि सिफारिस गरिन् । त्यसलगत्तैे राष्ट्रपति पौडेलले प्रधानमन्त्री कार्कीको सिफारिसबमोजिम भदौ २७ गते शक्रबार राति ११ बजेदेखि लागु हुने गरी वर्तमान प्रतिनिधि सभा विघटन गरे । राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजङ्ग थापामगरका अनुसार राष्ट्रपति पौडेलले २०८२ फागुन २१ गते बिहीबार प्रतिनिधि सभाको निर्वाचन गर्ने गरी मिति तोकेका छन् ।
जेनजी अभियानको भदौ २३ र २४ गतेको आन्दोलनले नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) को गठबन्धनलाई सत्ताच्युत गरेपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले प्रथम महिला प्रधानमन्त्रीका रूपमा कार्की नियुक्त भएकी हुन् । राष्ट्रपति कार्यालयमा शुक्रबार राष्ट्रपति पौडेल, नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देल, जेनजी अभियानका प्रतिनिधिलगायत सरोकारवालासँगको संवादपछि देशले नयाँ प्रधानमन्त्री प्राप्त गरेको हो ।
राष्ट्रपति कार्यालयका उपसचिव रुपेशजङ्ग थापामगरले राष्ट्रपति रामचन्द्र पौडेलले ‘राष्ट्राध्यक्षको हैसियतले प्रधानमन्त्रीको सिफारिस र सम्मतिका आधारमा नेपालको संविधानले राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था बमोजिम ६ (छ) महिनाभित्र प्रतिनिधि सभाको अर्को निर्वाचन सम्पन्न गर्ने गरी सुशीला कार्की, मोरङलाई नेपालको अन्तरिम सरकारको प्रधानमन्त्री पदमा नियुक्त गरेको जानकारी दिएका छन् ।






















